पश्चिम अफ्रिकी देश बुर्किना फासोले देशभरका सबै सौन्दर्य प्रतियोगिता स्थगित गर्दै युवतीका लागि राष्ट्रिय विज्ञान प्रतियोगिता सुरु गरेको छ।
सरकारले देशको सांस्कृतिक पहिचान, सामाजिक मूल्यमान्यता र मानवीय मर्यादाको संरक्षण गर्ने भन्दै जुन ८ मा सौन्दर्य प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको थियो।
नयाँ नियम नबन्दासम्म राष्ट्रिय, क्षेत्रीय र स्थानीय तहमा कुनै पनि सौन्दर्य प्रतियोगिता आयोजना गर्न अनुमति नदिने सरकारले जनाएको छ। प्रतियोगितालाई देशको सांस्कृतिक पहिचान, परम्परा र नैतिक मूल्यमान्यतासँग मेल खाने बनाउन नयाँ नियम तयार भइरहेको छ।
त्यसको दुई महिनापछि सरकारले ‘हाकिली मुसो’ नामक राष्ट्रिय विज्ञान प्रतियोगिताको घोषणा गर्यो। प्रतियोगिताका लागि अगस्ट २८ देखि सेप्टेम्बर ४ सम्म आवेदन खुला गरिएको थियो भने लिखित परीक्षा सेप्टेम्बर १५ मा सुरु भएको थियो। प्रतियोगितामा ८४ जना युवतीले गणित, भौतिकशास्त्र र रसायनशास्त्रमा प्रतिस्पर्धा गरेका थिए।
उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले पुरस्कार र छात्रवृत्ति प्राप्त गरेका थिए। प्रतियोगितापछि राष्ट्रपति इब्राहिम ट्राओरेले विजेताहरूसँग भेट गर्दै उनीहरूलाई आफ्नो क्षमतामा विश्वास गर्न, विज्ञानमा करियर बनाउन र भविष्यका लागि ठूला लक्ष्य राख्न प्रोत्साहित गरेका थिए। यो पहलले विज्ञान तथा प्रविधिका क्षेत्रमा महिलाको सहभागिता बढाउनुका साथै उनीहरूको प्रतिभालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने लक्ष्य राखेको छ।
सरकारको निर्णयले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पाएको छ। कतिपयले युवतीलाई विज्ञानमा अघि बढ्न प्रेरित गर्ने र उनीहरूको शैक्षिक अवसर विस्तार गर्ने कदम भन्दै प्रशंसा गरेका छन्। उनीहरूका अनुसार महिलाको क्षमता शारीरिक सौन्दर्यमा मात्र सीमित नभई ज्ञान, सीप र बौद्धिक प्रतिभामा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
तर केहीले विज्ञानलाई प्रोत्साहन गर्ने नाममा सौन्दर्य र महिलाको छनोटको स्वतन्त्रतालाई बेवास्ता गर्न नहुने बताएका छन्। उनीहरूका अनुसार महिलाले विज्ञान, सौन्दर्य तथा आफूले रुचाएका अन्य क्षेत्रमा अघि बढ्ने स्वतन्त्रता पाउनुपर्छ। विज्ञानमा महिलाको सहभागिता बढाउन अन्य क्षेत्रका अवसर बन्द गर्नु आवश्यक नहुने उनीहरूको तर्क छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया