यस वर्षको दशैंमा देशभरको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । मनसुन बाहिरिसकेकाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने र अधिकांश स्थानमा दशैंको उल्लासमा मौसमले खासै बाधा नपुर्याउने देखिएको छ । यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले नेपाल न्यूज बैंकसँगको कुराकानीमा दशैं अवधिमा अधिकांश स्थानको मौसम अनुकूल रहने बताए । उनका अनुसार केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ ।
फूलपातीमा पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
फूलपाती अर्थात् असोज ३१ गते देशका पहाडी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ ।
मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।
फूलपातीका दिन देशका हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ । रातिको समयमा पनि हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने र कोशी, गण्डकी तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले बिहानको यात्रामा सतर्कता अपनाउनुपर्नेछ ।
अष्टमीमा पनि पहाडी क्षेत्रमा वर्षा हुन सक्ने
अष्टमी अर्थात् कात्तिक १ गते देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ । मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
अष्टमीका दिन पनि देशका हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ ।
नवमी र दशमीमा अधिकांश स्थानमा मौसम सफा
कात्तिक २, ३ र ४ गते अर्थात् नवमीदेखि दशमीसम्म पनि देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्न सक्नेछ । ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको विभागको पूर्वानुमान छ ।
यात्रा गर्दा मौसमको सूचना हेर्न सुझाव
समग्रमा यस वर्षको दशैंमा देशका अधिकांश स्थानमा मौसम अनुकूल रहने देखिएको छ । यसले दसैंमा घर जाने, आफन्त भेटघाट गर्ने तथा घुमफिरको योजना बनाएकाहरूलाई सहज हुने अपेक्षा छ ।
तर पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा र हिमपातलाई ध्यान दिनुपर्नेछ । त्यस्तै, तराईका केही स्थानमा बिहानपख लाग्न सक्ने हुस्सु तथा कुहिरोले सडक यात्रामा असर पार्न सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक छ ।
दशैंको यात्रामा निस्कनुअघि मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न र प्रतिकूल मौसमको सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले सुझाएको छ ।

प्रतिक्रिया