बलिउड अभिनेता सलमान खान यतिबेला ‘कफी विद करण’ च्याट शोका कारण चर्चामा छन्। उक्त कार्यक्रममा उनले आफ्नो व्यावसायिक जीवनदेखि व्यक्तिगत जीवनसम्मका विभिन्न पक्षबारे चर्चा गरेका थिए। यसैबीच, सलमानले आफ्ना बुबा सलीम खानसँगका थुप्रै तस्बिर सार्वजनिक गर्दै उनीप्रतिको माया व्यक्त गरेका छन्।

उनले बिहीबार बिहान इन्स्टाग्राममा बुबासँग बिताएका पलका तस्बिरहरू साझा गरेका हुन्। तस्बिरमा बुबा र छोरा दुवै काउब्वाय टोपी लगाएर देखिएका छन्। यी तस्बिरलाई प्रशंसकहरूले निकै मन पराएका छन्। साथै, उनीहरूले सलीम खानको स्वास्थ्य राम्रो रहोस् भन्दै कामना पनि गरिरहेका छन्।

बुबाका लागि सलमानको भावुक पोस्ट

सलमानले सार्वजनिक गरेका तीनवटा तस्बिरमा उनी बुबासँग टोपी लगाएर क्यामेरातर्फ पोज दिइरहेका छन्। चौथो तस्बिरमा भने कुर्सीमा बसिरहेका बुबाको हात समातेर उनी भावुक देखिएका छन्।

तस्बिरसँगै उनले लेखेका छन्, ‘हाउडी पार्टनर! ९२ वर्षको उमेरमा पनि एक नम्बरमा हुनुहुन्छ। बाउ भनेको बाउ नै हो। उहाँ वास्तविक मोन्स्टर हुनुहुन्छ। हामी सबैका बाउमा दम छ। वन्दे मातरम्। अर्को दिन आउनु भनेको अर्को दिन कम हुनु पनि हो। साथीहरू, बुझ्नुभयो?’

उनको यो पोस्टमा प्रशंसकहरूले इमोजीमार्फत माया व्यक्त गरेका छन्।

बुबाले दिएको सल्लाह सम्झिए सलमानले

हालै ‘कफी विद करण’ कार्यक्रममा सलमान खानले आफ्ना बुबा तथा चर्चित लेखक सलीम खानले वर्षौँअघि दिएको एउटा सल्लाह सम्झिएका थिए।

सलमानका अनुसार उनका बुबाले भनेका थिए, ‘तपाईंको निजी जीवन तपाईंको शयनकक्ष हो र पूरै देश तपाईंको बैठक कोठा हो। तपाईं बैठक कोठामा जे भन्न सक्नुहुन्छ, त्यही पूरै देशसामु भन्नुहोस्। शयनकक्षका कुरा बैठक कोठासम्म आउनु हुँदैन।’

सलीम खानको स्वास्थ्य अवस्था

यस वर्ष फेब्रुअरी १७ मा लेखक सलीम खानलाई मुम्बईको बान्द्रा वेस्टस्थित लीलावती अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि उनको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक भएको थियो।

उनलाई हल्का मस्तिष्क रक्तस्राव (ब्रेन ह्यामरेज) भएको र त्यसपछि सानो प्रक्रिया गरिएको बताइएको थियो। उनी अहिले पूर्ण रूपमा स्वस्थ रहेको जानकारी दिइएको थियो।

सलीम खानको स्वास्थ्य बिग्रिएको खबर सार्वजनिक भएपछि फिल्म क्षेत्रका धेरै चर्चित व्यक्तित्व उनलाई भेट्न अस्पताल पुगेका थिए। उनीहरूमा जावेद अख्तर, सञ्जय दत्त, शिल्पा शेट्टी, संगीता बिजलानी र अमृता अरोरालगायत थिए। सबैले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।

आमा र बुबासँग निकै नजिक छन् सलमान

सलमान खानलाई परिवारप्रति समर्पित व्यक्तिका रूपमा चिनिन्छ। उनी आफ्नो परिवारसँग निकै नजिक छन्। आमा सलमा खान र बुबा सलीम खानप्रति उनको विशेष लगाव छ। उनी प्रायः परिवारसँगका तस्बिरहरू सामाजिक सञ्जालमा साझा गरिरहन्छन्।

सलमानलाई परिवारसँग समय बिताइरहेको अवस्थामा पनि प्रायः देख्न सकिन्छ। सलीम खान अस्पतालबाट घर फर्किएपछि ईदको अवसरमा पनि सलमानले बुबासँगका तस्बिरहरू सार्वजनिक गरेका थिए। ती तस्बिरले धेरैलाई भावुक बनाएका थिए।