(सुमन थापा )

दोलखा : भीमेश्वर नगरपालिका एमालेबाट मेयरको उम्मेदवारी दिएका हरिवंश चौलागाईले नगरको विकास नयाँ ढंगले गर्ने उद्घोष गरेका छन् । चौलागाईले एमालेले अघिल्लो कार्यकालमा कोरेको विकासको खाका बाट भीमेश्वरलाई समृद्द बनाएरै छाड्ने उद्घोष गरेका हुन्। 

स्थानीय सरकार नहुँदा सर्वदलीय संयन्त्रमा भीमेश्वर नगरबाट एमालेको प्रतिनिधि भएर पूरै नगरमा विकासको काम अघि बढाएको अनुभवी नेतालाई एमालेले उम्मेदवार बनाएको हो। उनले भीमेश्वरका आम नागरिकको भावना बुझेर विकासका काम अघि बढाउने कार्ययोजना बनाएका छन्।

सानै उमेरदेखि पूर्णकालीन राजनीतिमा समर्पित भएका उनी इमानदार, समन्वयकारी र असल राजनीतिज्ञ मानिन्छन्। पार्टीभित्र कुशल संगठक, प्रतिबद्ध र इमान्दार नेताको छवि बनाएका र अघिल्लो कार्यकालमा वडा ४ मा वडाध्यक्ष हुँदा समग्र विकास अगाडि बढाएका कारण मेयरको चर्चामै थिए। चौलागाईं आफूलाई निम्न वर्ग, कृषक र मजदूरको प्रतिनिधिको उम्मेदवार भनेर चिनाउन चाहन्छन्।

राजनीति र विकासका क्षेत्रमा आफ्नो लामो अनुभव भएको र यो नै नगर विकास गराउने महत्वपूर्ण कडी भएको उनको दावी छ। भीमेश्वरमा नेकपा एमालेको संगठन मजबुत बनाउन उनको पनि ठूलो योगदान छ। 

को हुन् हरिवंश चौलागाई ?

स्व.पिता कृष्ण प्रसाद र माता नन्दमाया चौलागाईका सुपुत्रका रूपमा दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ४ जिलु फसिभैँमा वि.सं. २०३४ सालमा हरिवंश चौलागाईँको जन्म भएको हो। सामान्य किसान परिवारमा जन्मेका चौलागाईले १० वर्षको सानो उमेरमा पिता गुमाउनु परेको थियो।  प्राथमिक शिक्षाको शुरुवात गाउँकै सामान्य विद्यालयबाट गरेका चौलागाईले कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटबाट माध्यमिक शिक्षा पूरा गरे। उनले राजनीतिशास्त्रमा स्नातक सम्मको अध्ययन पूरा गरेका छन्।

उनको १४ वर्षको कलिलो उमेरमा वि.सं. २०४८ सालमा अनेरास्ववियू प्रारम्भिक कमिटी कालिञ्चोक माध्यमिक विद्यालयमा अध्यक्षको जिम्मेवारीबाट राजनीतिक यात्रा प्रारम्भ भयो।

निडर, प्रष्टवक्ता, हँसिलो चेहरा र हक्की स्वभावका चौलागाईको अनेरास्ववियूमा सक्रियता र जिम्मेवारी बोधको विशेषताले उनलाई वि.सं.२०५१ सालमा नेकपा एमाले तत्कालीन चरिकोट गाउँ कमिटिको उपसचिवको जिम्मेवारी दिइयो । त्यो समयमा नेकपा एमालेको संगठन विस्तारमा उनको भूमिका महत्वपूर्ण रह्यो।

हालको नेकपा एमालेको सुदृढ संगठन तत्कालीन समयको संगठन विस्तारलाई लिन सकिन्छ। काममा प्रतिवद्ध र संगठन प्रतिको लगावका कारण चौलागाई वि.स. २०५२ सालमा अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष र सोही समयमा राष्ट्रिय परिषद सदस्य समेत बने।

जिल्लामा रहेका विद्यायमा प्रारम्भिक कमिटी गठन र शैक्षिक आन्दोलनमा अग्रणी र सशक्त भूमिका निर्वाह गरे। तत्कालीन समयमा अनेरास्ववियूले २१ सूत्रीय शैक्षिक माग राखेर आन्दोलन गरेको थियो । त्यसबेला जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाएको भन्दै उनलाई ४ दिनको हिरासत समेत राखिएको थियो।

आजीवन व्यक्तिगत स्वार्थभन्दा पनि सिंङ्गो उर्जाशील समय पार्टी संगठनका लागि खर्चिएका चौलागाईले वि.सं.२०५३ सालमा भीमेश्वर नगर कमिटीको संस्थापक सदस्यको रुपमा काम गरे। वि.सं. २०६१ सालदेखि वि.सं.२०७० सालसम्म (पार्टी सचिवसहित) ३ कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहेर नगरको संगठन बलियो बनाउन उनको भूमिका उल्लेखनीय छ।

वि.सं. २०६२ सालदेखि एमाले जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी र निरन्तर नगर इन्चार्जको भूमिकामा पार्टी र संगठनका लागि काम गर्दै आएका छन्। उनी हाल मदन भण्डारी फाउण्डेशनको अध्यक्षको भूमिकामा रहेका छन् ।

उनले संघीय शासन व्यवस्था पछिको पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा भीमेश्वर नगरपालिका वडा नं ४ को वडाध्यक्षको जिम्मेवारी पूरा गरी कुशलतापूर्वक कार्यसम्पादन गरेका छन्।