आईसिसी विश्वकप क्रिकेट लिग-२ को आफ्नो अन्तिम शृंखलाको दोस्रो खेलमा नेपालले ओमानविरुद्ध धारिलो बलिङ गरेको छ। एकपछि अर्को विकेट झरेपछि ओमानको इनिङ्स धराशायी बनेको छ।

नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानका कुनै पनि ब्याटर नेपाली बलरसामु टिक्न सकेका छैनन्। जितेन्द्र सिंहले १८ रन बनाउनु बाहेक अन्य ब्याटर दोहोरो अंकको स्कोर नगरी पवेलियन फर्केका छन्।

ओमानले १६ ओभरकाे समाप्तिमा ६ विकेट गुमाएर ५५ रनमात्र बनाउन सकेको छ।

कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान २ तथा करण केसी र ललित राजवंशीले समान एक विकेट लिएका छन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २६३ रनको योगफल तयार पारेको थियो ।

आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले मात्र १६ बलमा ४ छक्का र एक चौकाको मद्दतमा ४० रनको योगदान गरे। रोहित पौडेलले ६१ रन बनाउँदा अर्जुन कुमालले ४० रन जोडे। ईशान पाण्डे र बसिर अहमदले समान ३७, दीपेन्द्र सिंह ऐरीले २२, सुन्दीप जोराले १० रन बनाउँदा आशिफ शेख ४ र नन्दन यादवले नटआउट ७ रनको योगदान गरे।

ओमानका लागि शाह फेसिल, शकिल अहमद र करन सोनाभ्ले समान २ विकेट लिए।