अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दाबीप्रति अविश्वास व्यक्त गर्दै त्यसो गरेमा दुवै देशले धेरै गुमाउनुपर्ने बताएका छन्।
उनले सहयोग भइरहेको भए पनि सीमित स्तरमा हुन सक्ने उल्लेख गरेका छन्।
ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘चीन र रुसले इरानलाई सहयोग गरिरहेका छन् भन्ने कट्टरपन्थी वामपन्थीका टिप्पणी देखिरहेको छु। उनीहरूले सहयोग गरिरहेका छन् भने पनि निकै कम स्तरमा छ। तर, उनीहरूले सहयोग गरिरहेका छन् भन्ने मलाई विश्वास छैन। दुवै देशले धेरै गुमाउनेछन्।’
गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको करिब डेढ घण्टा लामो टेलिफोन वार्तामा आर्थिक सहयोग, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो।
त्यसपछि ट्रम्पले रुसले अमेरिकी तथा विश्व बजारमा तत्काल तीन लाख टनभन्दा बढी डिजेल इन्धन आपूर्ति गर्ने र आगामी महिनाहरूमा थप आपूर्ति गर्ने सहमति भएको दाबी गरेका थिए। उनले यसबाट डिजेलको मूल्य घट्ने बताएका छन्।
यसैगरी, गत सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको तीनदिने वासिङ्टन भ्रमणका क्रममा दुई नेताबीच भेटवार्ता भएको थियो।
छ महिनाभन्दा कम अवधिमा भएको दोस्रो भेटपछि अमेरिका र चीनले दुवै दिशामा ३० अर्ब अमेरिकी डलर बराबरका गैरसंवेदनशील वस्तुको व्यापारमा अनुकूल भन्सार महसुल व्यवस्था गर्ने तथा उदीयमान प्रविधिमा संवाद अघि बढाउने सहमति गरेका थिए।
ह्वाइट हाउसको तथ्यपत्रअनुसार दुवै देशले सन् २०२६ को मेमा बेइजिङमा स्थापित व्यापार तथा लगानीसम्बन्धी बोर्ड सञ्चालनमा ल्याएका छन्।
चीनले सन् २०२७ र २०२८ मा कम्तीमा एक करोड मेट्रिक टन अमेरिकी कोइला आयात गर्न पनि सहमति जनाएको छ।

प्रतिक्रिया