कर्णाली। एकीकृत समाजवादी पार्टीका केन्द्रीय प्रचार विभाग सदस्य धनराज वास्तविक नरहरिनाथ गाउँपालिकाको अध्यक्ष पदको लागि सिफारिस भएका छन्।
गत चैत २९ गते पार्टीको गाउँपालिका स्तरीय कमिटीले वास्तविकसहित अध्यक्ष पदका लागि चार जनाको नाम सिफारिस गरेको बुझिएको छ। वर्तमान अध्यक्ष धीरबहादुर बिष्ट, वीरेन्द्र बुढा र दानबहादुर सहकारी अध्यक्ष पदका आकांक्षी हुन्।
पार्टीको केन्द्रीय निर्देशन अनुसार सकेसम्म जिल्लामा नभए प्रदेश कमिटीले पालिका स्तरीय नेतृत्वको लागि उम्मेदवार छनोट गर्नेछ।
यसै सन्दर्भमा ३६ वर्षीय वास्तविकले शुक्रबार सामाजिक सन्जाल फेशबुकमा लेखेका छन्, “आफ्नो इच्छाशक्ति, अठोट, आँट, साहास, दृष्टिकोण, विचार, अनुभव, योग्यता र क्षमताको परिक्षणका लागि नरहरीनाथ गाउँपालिकाको नेतृत्वको प्रस्तावित उम्मेदवार बनेको छु। अटुट आस्था बोकेर नेपाली वाम आन्दोलनको उचाईलाई थप उचाई दिन र समाजवादको आधार स्तम्भ तय गर्न समाजवादी आन्दोलनको मोर्चामा होमिएको हुँ। पालिका स्तरीय प्रतिस्पर्धा पहिलो र अन्तिम हो! जाम गर्ने काम कम्युनिस्ट आन्दोलनको लागि मात्रै नभएर व्यक्तिका लागि पनि ठिक हुँदैन भन्ने बुझाई छ। त्यसैले पनि यो संक्रमणकालिन अवस्थामा परिक्षणको अग्निमा जल्नुलाई कसैले पनि अन्यथा मान्नु हुँदैन।”
प्रतिक्रिया