अमेरिकामा केही घण्टाको अन्तरालमा भएका दुई सामूहिक गोलीकाण्डमा १४ जनाको ज्यान गएको छ।
जर्जियाको डगलसस्थित एक घरमा स्थानीय समयअनुसार शुक्रबार साँझ भएको घटनामा पाँच जनाको ज्यान गएको प्रहरीले शनिबार जनाएको हो। शुक्रबार राति गोली चलेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।
त्यस्तै, पेन्सिलभेनियाको एरीमा शुक्रबार साँझ भएको अर्को घटनामा नौ जनाको ज्यान गएको थियो। प्रहरीले यसलाई दुःखद सामूहिक गोलीकाण्ड भनेको छ। ज्यान गुमाउनेमा दुई बालबालिका र एक गर्भवती महिला पनि छन्।
एरी सहर प्रशासनका अनुसार घटनामा संलग्न व्यक्तिसहित नौ जनाको प्रहरी घटनास्थल पुग्नुअघि नै ज्यान गएको थियो। त्यसपछि थप गोली चलेको थिएन।
पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावितलाई सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन्।
एरीका प्रहरी प्रमुख रिक लोराहले आफ्नो २८ वर्षभन्दा लामो सेवाकालमा यस्तो कठिन घटना नदेखेको बताए। उनले घटनाको कारण अझै खुल्न नसकेको पनि बताएका छन्। एजेन्सी

प्रतिक्रिया