अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित एरी सहरमा भएको सामूहिक गोलीबारीमा दुई बालबालिकासहित नौ जनाको मृत्यु भएको छ।

घटनामा गोली चलाएको आशंका गरिएका व्यक्ति पनि मृत फेला परेका छन्। तर मृतकको कुल संख्यामा ती व्यक्ति समावेश छन् वा छैनन् भन्ने स्पष्ट भइसकेको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार शुक्रबार स्थानीय समयअनुसार साँझ करिब ५ बजे पेरी स्ट्रिटमा प्रहरीलाई खबर गरिएको थियो। प्रत्यक्षदर्शीले एक व्यक्तिले घरभित्र पस्नुअघि गोली चलाएको बताएका थिए।

घटनापछि सडकमा दुई महिलाको शव फेला परेको थियो भने अन्य केही व्यक्ति घरभित्र मृत अवस्थामा भेटिएका थिए। प्रहरीले गोली चलाएको आशंका गरिएका व्यक्ति आफैंले गोली हानेको अवस्थामा मृत फेला परेको जनाएको छ। प्रहरीले अहिले सर्वसाधारणलाई थप खतरा नरहेको बताएको छ।

एरीका प्रहरी प्रमुख रिक लोराहले घटनामा भएको मानवीय क्षतिलाई शब्दमा व्यक्त गर्न कठिन रहेको बताए। उनले पीडित र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै अनुसन्धान पूरा नभएसम्म घटनाबारे थप विवरण सार्वजनिक नगर्ने बताए। अनुसन्धानकर्ताहरूले घटनाको वास्तविक परिस्थिति पत्ता लगाउन काम गरिरहेको पनि उनले जानकारी दिए।

एरी सहरको प्रशासन र मेयर डारिया डेभलिनले संयुक्त विज्ञप्ति जारी गर्दै अवस्था नियन्त्रणमा आइसकेको बताएका छन्। विज्ञप्तिमा घटनाबाट प्रभावित परिवार र समुदायप्रति दुःख व्यक्त गर्दै सर्वसाधारणलाई अहिले थप खतरा नरहेको उल्लेख गरिएको छ।

पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले पनि शनिबार बिहान घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले एरीका मेयरसँग कुराकानी गरेको र प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताए।

घटनाको कारण र अन्य विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।