रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँगको द्वन्द्व अन्त्य गर्ने सम्भावित शान्ति सम्झौताबारे इरानको अडान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराएका छन्।
क्रेमलिनले शनिबार दिएको जानकारीअनुसार शुक्रबार दुई नेताबिच भएको फोन संवादमा पुटिनले इरानी पक्षको धारणा ट्रम्पसमक्ष राखेका हुन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार पुटिनले इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँगको समन्वयमा इरानको धारणा ट्रम्पलाई सुनाएका थिए। तर इरानले सम्झौताका लागि अघि सारेका सर्त के हुन् र ट्रम्पले त्यसबारे कस्तो प्रतिक्रिया दिए भन्ने विषयमा क्रेमलिनले विस्तृत जानकारी दिएको छैन।
पुटिनले यसै साता तुर्कमेनिस्तानमा भएको शिखर सम्मेलनका क्रममा पेजेश्कियानसँग दुई पटक भेट गरेका थिए। ती भेटमा इरानसँगको द्वन्द्व अन्त्य गर्ने सम्भावना र त्यसका लागि रूसले खेल्न सक्ने भूमिकाबारे छलफल भएको थियो। उनले इरान र अमेरिकाबिचको समस्या समाधान गर्न कूटनीतिक पहलमा सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए।
इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरीमा आक्रमण गरेपछि सुरु भएको द्वन्द्व अन्त्य गर्न भएका प्रयासले अहिलेसम्म ठोस सफलता पाउन सकेका छैनन्। जुनमा द्वन्द्व अन्त्य गर्ने सम्भावित रूपरेखासहित समझदारी बने पनि स्थायी समाधान निस्कन सकेन। त्यसपछि होर्मुजको जलमार्गमा व्यावसायिक जहाजमाथि भएका इरानी आक्रमणपछि अमेरिकी सैन्य कारबाही पुनः सुरु भएको थियो।
सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा भएका अप्रत्यक्ष वार्ताले पनि निर्णायक परिणाम दिन सकेनन्। इरानले सम्भावित युद्धविरामका लागि अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने माग गर्दै आएको छ। इरानी राष्ट्रपति पेजेश्कियानले यसअघि मध्यस्थकर्तामार्फत अमेरिका र इरानबिच प्रस्ताव आदानप्रदान भइरहेको र तेहरानले आफ्नो जवाफ परिमार्जन गरिरहेको बताएका थिए।
यसैबिच, अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र उनका ज्वाइँ जारेड कुश्नर आगामी दुई साताभित्र रूसको राजधानी मस्को जाने सम्भावना रहेको रूसी सरकारी समाचार एजेन्सी टासले जनाएको छ।
दाबीअनुसार दुवै अमेरिकी प्रतिनिधिको मस्को भ्रमण हुन सक्ने सम्भावना छ। तर भ्रमणको मिति र अन्य विवरणबारे सहमति हुन बाँकी छ। क्रेमलिनका प्रवक्ता पेस्कोभले पनि विट्कफ र कुश्नर मस्कोमा स्वागतयोग्य रहेको बताए। उनीहरू अक्टोबरभित्रै जान लागेका हुन् वा होइनन् भन्ने निश्चित नभएको उनको भनाइ छ।
विट्कफ र कुश्नरको सम्भावित भ्रमणलाई रूस र अमेरिकाबिच जारी कूटनीतिक संवादको अर्को चरणका रूपमा हेरिएको छ। यद्यपि, उनीहरूको भ्रमण इरानसम्बन्धी वार्तामा केन्द्रित हुनेछ वा युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा, यसबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
पुटिन र ट्रम्पबिच शुक्रबार भएको फोन संवाद करिब डेढ घण्टा चलेको थियो। रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले वार्तालाई विस्तृत र मैत्रीपूर्ण बताएका छन्। उनका अनुसार संवादको अधिकांश समय युक्रेन युद्ध अन्त्य गर्ने सम्भावनाबारे छलफलमा बितेको थियो।
क्रेमलिनका प्रवक्ता पेस्कोभले अमेरिकी पक्षबाट तनाव कम गर्ने विषयमा केही प्रस्ताव राखिएको र पुटिनले ती प्रस्तावप्रति सकारात्मक रूपमा प्रतिक्रिया दिएको बताए। तर युक्रेन युद्धसम्बन्धी वार्ता कहिले र कसरी अघि बढ्छ भन्नेबारे स्पष्ट सहमति सार्वजनिक भएको छैन।
फोन संवादमा ऊर्जा आपूर्तिको विषय पनि उठेको थियो। ट्रम्पले रूसबाट अमेरिका र विश्व बजारमा ठुलो परिमाणमा डिजेल आपूर्ति गर्ने विषयमा सहमति भएको बताएका छन्। रूसले अक्टोबरमा विश्व बजारका लागि तीन लाख टन डिजेल उपलब्ध गराउने र नोभेम्बरमा निर्यात बढाएर पाँच लाख टनसम्म पुर्याउन सक्ने जनाएको छ।
रूसबाट डिजेल आयात गर्न अमेरिकाले प्रतिबन्धसम्बन्धी व्यवस्था अस्थायी रूपमा खुकुलो पारेको छ। यसबाट युक्रेन र युरोपेली पक्षबाट सन्तुष्ट छैन। युरोपेली संघकी विदेश नीति प्रमुख काजा कल्लासले यस्तो समयमा रूसमाथिको दबाब कम गर्नु उचित नभएको बताएकी छन्।

प्रतिक्रिया