भारतको दिल्लीमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले गरेको विरोध प्रदर्शन रोक्न प्रहरीले व्यापक सुरक्षा व्यवस्था अपनाएको थियो।

हजारौं सुरक्षाकर्मी परिचालन, यातायातमा कडाइ, सडकमा ब्यारिकेड र प्रदर्शनकारीलाई हिरासतमा लिने उपायमार्फत प्रहरीले उनीहरूलाई जन्तरमन्तर पुग्नबाट रोकेको हो।

प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै सीजेपीले शनिबार बिहान १० बजे जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको थियो। तर, दिल्ली प्रहरीको कडाइका कारण साँझ ५ बजेसम्म पनि प्रदर्शनकारीले निर्धारित स्थानमा भेला हुन पाएनन्।

प्रदर्शनको नेतृत्व गरिरहेका सीजेपीका संस्थापक अभिजित दिप्के, सौरभ दास र आशुतोष रान्कालाई विमानस्थलबाटै हिरासतमा लिइएको थियो। अन्य समर्थकलाई पनि दिल्ली प्रवेश गर्ने विभिन्न नाकामा रोकिएको थियो।

दैनिक भास्करका अनुसार प्रदर्शन नियन्त्रण गर्ने क्रममा दिल्लीभर सात हजार जनालाई हिरासतमा लिइएको छ। यस क्रममा पूर्वमुख्यमन्त्री ममता बनर्जी र अरविन्द केजरीवाललाई पनि हिरासतमा लिइएको थियो। प्रहरीसँग एक-दुई ठाउँमा झडप भएको छ। प्रदर्शनकारीले ब्यारिकेड तोडेका थिए भने आकाशवाणी भवन नजिक ढुंगा प्रहार हुँदा दुई प्रहरी घाइते भए। प्रदर्शन रोक्न प्रहरीले सात बुँदे मुख्य रणनीति अपनाएको थियो।

३८ हजार सुरक्षाकर्मी परिचालन
अक्टोबर ८ देखि १२ सम्मका लागि केन्द्रीय सशस्त्र प्रहरी बल (सीएपीएफ) का २२१ कम्पनी अर्थात् करिब २३ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। यसबाहेक दिल्ली प्रहरीका कम्तीमा १५ हजार कर्मचारी परिचालन गर्ने योजना बनाइएको थियो। यसरी प्रदर्शनलाई ध्यानमा राखेर करिब ३८ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको थियो।

दिल्ली आउने रेल र बसमा निगरानी
प्रदर्शनका दिन दिल्ली आउने रेल सेवामा रोक लगाइएको र बस बुकिङमा निगरानी बढाइयो। बसबाट कति मानिस दिल्ली आउँदैछन् र उनीहरूको यात्रा कसले व्यवस्थापन गरेको छ भन्नेबारे जानकारी संकलन गरियो। शनिबार बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म दिल्ली आइपुग्ने २५० रेल रद्द गरियो।

विद्यार्थीलाई प्रदर्शनमा सहभागी हुन रोक्ने प्रयास
विश्वविद्यालय र कलेजका प्रमुख तथा अन्य शैक्षिक संस्थाका अधिकारीसँग सम्पर्क गरेर विद्यार्थीलाई प्रदर्शनमा सहभागी हुनबाट रोक्न आग्रह गरिएको थियो। यसलाई प्रदर्शनमा सहभागी हुन सक्ने मानिसको संख्या घटाउने प्रयासका रूपमा हेरिएको छ।

४५ मेट्रो स्टेसन बन्द गर्ने तयारी
शनिबार दिल्लीका ४५ मेट्रो स्टेसनका प्रवेश र निकास बन्द गर्ने व्यवस्था गरिएको थियो। जन्तरमन्तर क्षेत्रमा १० फिट अग्ला ब्यारिकेड राखिएका थिए। सम्भावित झडप नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गर्ने सवारीसाधनसमेत तयारी अवस्थामा राखिएको थियो। मेट्रो स्टेसन बन्द गर्दा प्रदर्शनस्थलसम्म पुग्ने मानिसको आवागमनमा समेत असर परेको थियो।

दिल्लीका सीमामा कडाइ
उत्तर प्रदेश र राजस्थानबाट दिल्ली प्रवेश गर्ने मार्गमा सुरक्षा जाँच बढाइएको थियो। पूर्वी दिल्ली र शाहदरा क्षेत्रमा पनि निगरानी कडा पारियो। विभिन्न नाकामा ब्यारिकेड राखेर प्रदर्शनकारीलाई राजधानी प्रवेश गर्न र प्रदर्शनस्थलसम्म पुग्न रोक्ने प्रयास गरिएको थियो।

बडी क्यामेरा र अस्थायी हिरासत केन्द्र
प्रदर्शनका क्रममा हुने गतिविधि र सम्भावित झडप रेकर्ड गर्न अग्रपंक्तिमा खटिएका प्रहरीलाई बडी क्यामेरा उपलब्ध गराइएको थियो। प्रदर्शनकारीलाई राख्न रंगशालालगायतका स्थानमा अस्थायी हिरासत केन्द्रसमेत बनाइएको थियो। प्रहरीलाई १५० वटा बडी क्यामेरा उपलब्ध गराइएको थियो।

नेतादेखि कार्यकर्तासम्मलाई बाटोमै रोकियो
प्रदर्शनको नेतृत्व गर्ने सीजेपीका दिप्के, दास र रान्कालाई विमानस्थलमै हिरासतमा लिइएको थियो। अन्य कार्यकर्तालाई पनि जन्तरमन्तर पुग्नुअघि विभिन्न स्थानमा रोकिएको थियो। दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवाल, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री बनर्जी र विद्यार्थी नेता नेहा बोरासहित अन्य विपक्षी नेताहरूलाई पनि हिरासतमा लिइयो। युट्युबर ध्रुव राठीसहित अन्य व्यक्तिलाई पनि हिरासतमा लिइएको थियो।

यसबाहेक प्रहरीले पुणे र मुम्बईमा पनि प्रदर्शनकारीलाई हिरासतमा लिएको छ। दिल्लीमा प्रदर्शन रोक्ने प्रयास भइरहेका बेला भारतका अन्य सहरमा पनि विरोध प्रदर्शन भएका थिए। पुणे प्रहरीले करिब ८० देखि १०० प्रदर्शनकारीलाई हिरासतमा लिएर लस्कर प्रहरी चौकी पुर्‍याएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

त्यस्तै, दिल्लीको प्रदर्शनलाई समर्थन गर्दै मुम्बईको अगस्ट क्रान्ति मैदानमा भेला भएका करिब ४०० जनालाई प्रहरीले हिरासतमा लिएको छ। हिरासतमा लिइएकामा ‘हम भारत के लोग’ समूहका सदस्य र भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का कार्यकर्ता पनि छन्। प्रहरीले अनुमति नलिई भेला भएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

आफ्ना नेताहरूलाई विमानस्थलमै हिरासतमा लिइएको घटनाप्रति सीजेपीले आपत्ति जनाएको छ। पार्टीले यसलाई शान्तिपूर्ण प्रदर्शनमा अवरोध भन्दै आफ्ना नेताहरूलाई प्रदर्शनस्थलमा पुग्नबाट रोकिएको आरोप लगाएको छ।

पार्टीका संस्थापक दिप्केको पहिले नै रेकर्ड गरिएको भिडियो सार्वजनिक गर्दै संगठनका इन्चार्ज अजिंक्य शिन्देले कार्यकर्तालाई जन्तरमन्तरतर्फ अघि बढ्न आग्रह गरेका थिए। प्रहरीले जहाँ रोके पनि त्यही स्थानलाई प्रदर्शनस्थल बनाउने उनको भनाइ थियो।

यसैबिच, अभियन्ता सोनम वाङचुकले पनि हिरासतमा लिइएका प्रदर्शनकारीलाई तत्काल रिहा नगरिए पुनः अनशन बस्ने चेतावनी दिएका छन्।

कांग्रेस नेता एवं लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले भिडियो सन्देशमार्फत प्रदर्शनकारीलाई आन्दोलन जारी राख्न आग्रह गरेका छन्। उनले न्यायको माग गर्दै आन्दोलन अघि बढाउनुपर्ने बताए।

जवाफमा, भारतीय जनता पार्टीका नेता रविशंकर प्रसादले कांग्रेसको आलोचना गर्दै इन्दिरा गान्धीको शासनकालमा पनि विपक्षी नेताहरूलाई हिरासतमा राखिएको स्मरण गराएका छन्।

विरोध प्रदर्शनका क्रममा हिरासतमा लिइएका केही वकिललाई प्रधानन्यायाधीश सूर्यकान्तको हस्तक्षेपपछि रिहा गरिएको छ। सर्वोच्च अदालत बार एसोसिएसनले महिला अधिवक्तासहित धेरै वकिललाई हिरासतमा राखिएको र प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको आरोप लगाउँदै प्रधानन्यायाधीशसँग हस्तक्षेप गर्न आग्रह गरेको थियो।

यसरी, प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दै सुरु गरिएको प्रदर्शनलाई नियन्त्रणमा राख्न दिल्ली प्रहरीले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन, यातायातमा कडाइ, विभिन्न स्थानमा ब्यारिकेड र व्यापक हिरासतको उपाय अपनाएको पाइएको छ।

सीजेपी र विपक्षी नेताहरूले भने प्रदर्शनमा अवरोध गरिएको भन्दै सरकार तथा प्रहरीको आलोचना गरेका छन्। सोमबार विपक्षी ‘इन्डिया’ गठबन्धनले थप ठुलो आन्दोलन गर्ने घोषणा गरेको छ। भारतीय सञ्चारमाध्यमको सहयोगमा