सर्लाही र पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सर्लाहीमा म्याजिक जिपको ठक्करबाट मोटरसाइकल चालक र वीरगञ्जमा मिनी ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

सर्लाहीको हरिपुर नगरपालिका-८, जगतपुरस्थित नवलपुर-मलंगवा सडकखण्डमा शनिबार बिहान म्याजिक जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार बिहान ८:१५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना.१ ज ६३०८ नम्बरको म्याजिक जिपले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२-०१० प २२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मलंगवा नगरपालिका-७, गणेशियाका ३० वर्षीय अरविन्द साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। चिकित्सकले बिहान ९:२० बजे उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि म्याजिक चालक हरिपुर नगरपालिका-२, हरिपुर बजारका ३३ वर्षीय नजामुदिन बैठालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, पर्साको वीरगञ्ज महानगरपालिका-१०, बजरंग टोलस्थित भित्री सडकमा मिनी ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

आदर्शनगरबाट सिर्सिया पुलतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ क ३५३७ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका भारतको बिहारस्थित मोतिहारी जिल्ला, हरैया वडा नं. १, भलुवाहा टोलका करिब ४५ वर्षीय खेखन पण्डितलाई ठक्कर दिएको थियो।

घाइते पण्डितलाई उपचारका लागि नारायणी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि मिनी ट्रक चालक बाराको परवानीपुर गाउँपालिका-४, चैनपुरका करिब ३६ वर्षीय टुना देवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा स्थानीयले कुटपिट गर्दा चालकको टाउकोमा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।