भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै गरिएको प्रदर्शनका क्रममा प्रहरीले कक्रोच जनता पार्टी (सीजेपी) का नेतासहित हजारौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। प्रदर्शनकारीलाई जन्तरमन्तर पुग्न नदिन प्रहरीले कडा सुरक्षा व्यवस्था गरेको थियो।

सीजेपीका संस्थापक अभिजित दिप्के, सौरव दास र अशुतोष रंकालाई दिल्ली विमानस्थलमा नियन्त्रणमा लिइएको थियो। पार्टीकी कानुनी टोली प्रमुख रत्ना सिंह, युट्युबर ध्रुव राठी र विद्यार्थी संगठनकी अध्यक्ष नेहा बोरा पनि नियन्त्रणमा परेको विवरण सार्वजनिक भएको छ। आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पनि नियन्त्रणमा परेको बताइएको छ।

प्रदर्शनका क्रममा दिल्लीका ४५ मेट्रो स्टेशनका प्रवेश तथा निकासद्वार बन्द गरिएका थिए। नयाँ दिल्ली र हजरत निजामुद्दिन स्टेशनमा शनिबार बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म आइपुग्ने २५० भन्दा बढी रेल रद्द गरिएको थियो। जनपथ-कर्तव्य पथ क्षेत्रको चार किलोमिटर आसपास मोबाइल इन्टरनेट सेवा पनि २४ घण्टाका लागि बन्द गरिएको थियो।

आन्दोलनको नेतृत्वमा अजिंक्य शिन्दे
सीजेपीका प्रमुख नेता नियन्त्रणमा परेपछि पार्टीका राष्ट्रिय संगठन प्रमुख अजिंक्य शिन्देले प्रदर्शनको नेतृत्व गरेका छन्। दिप्केले पहिले नै रेकर्ड गरिएको भिडियोमार्फत आफू र अन्य नेता नियन्त्रणमा परेमा आन्दोलनको जिम्मेवारी शिन्देले सम्हाल्ने बताएका थिए।

शिन्दे ३५ वर्षीय महाराष्ट्रको लातुरका हुन्। उनले डा. बाबासाहेब आंबेडकर टेक्नोलोजिकल विश्वविद्यालयमा इन्जिनियरिङ तथा प्रविधिसम्बन्धी अध्ययन गरेका थिए। त्यसपछि पुणेको एक सूचना प्रविधि कम्पनीमा काम गरेका उनी आम आदमी पार्टीमा पूर्णकालीन कार्यकर्ताका रूपमा जोडिएका थिए।

उनले महाराष्ट्रको पिम्परी-चिन्चवडमा आपका संयोजकका रूपमा काम गरेका थिए भने गोवामा पार्टीको चुनावी अभियानमा पनि सहभागी भएका थिए। महाराष्ट्रमा पार्टीको सामाजिक सञ्जाल र युवा संगठनसम्बन्धी जिम्मेवारी सम्हालेका शिन्दे सन् २०१६ मा गोवामा दिप्केसँग परिचित भएका थिए। सीजेपीले गत अगस्टमा उनलाई राष्ट्रिय संगठन प्रमुखको जिम्मेवारी दिएको थियो। उनी सरकारी विद्यालयको अवस्था सुधार्न माग गर्दै चलाइएको ‘स्कुल ठीक करो’ अभियानमा पनि सहभागी भएका थिए।

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेका छन्। उनले मतदाता नामावलीमा भएको भनिएको हेरफेरलाई ‘भोट चोरी’ को संज्ञा दिएका छन्।

निर्वाचन आयोगको कार्यालय र जन्तरमन्तरतर्फ अघि बढ्ने क्रममा राहुल, प्रियंका गान्धीलगायत विपक्षी सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूले नागरिकको ‘एक व्यक्ति, एक मत’ को अधिकार रक्षाका लागि आन्दोलन जारी राख्ने बताएका छन्।

राहुल गान्धीले निर्वाचन आयोगसँग विगत १० वर्षको विद्युतीय मतदाता नामावली र मतदानसम्बन्धी विवरण सार्वजनिक गर्न माग गरेका छन्। उनले आन्दोलन मुख्य निर्वाचन आयुक्तको राजीनामामा मात्र सीमित नरहने र मोदी सरकारमाथि पनि दबाब बढाउने चेतावनी दिएका छन्।

गान्धीले भनेका छन्, ‘ज्ञानेश कुमार त जाने नै छन्, यो मोदी सरकार पनि ढल्नेछ र त्यसपछि मात्रै लोकतन्त्रको पुनर्स्थापना सुरु हुनेछ।’

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले पनि प्रदर्शनलाई समर्थन गर्दै मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेका छन्। उनले निर्वाचन आयोगले निष्पक्ष रूपमा काम गर्नुपर्ने बताउँदै मतदाता नामावली संशोधनमा षड्यन्त्र भएको भए त्यसको जिम्मेवारी भाजपाले लिनुपर्ने आरोप लगाएका छन्।

विपक्षी गठबन्धनको अर्को प्रदर्शन घोषणा
विपक्षी दलहरूको गठबन्धन ‘इन्डिया’ ले मतदान अधिकारको रक्षा गर्न सोमबार दिल्लीमा ठुलो प्रदर्शन गर्ने घोषणा गरेको छ। कांग्रेस महासचिव केसी वेणुगोपालले यो अभियान लोकतन्त्र र नागरिकको मतदान अधिकारको रक्षाका लागि भएको बताएका छन्।

यता, भाजपाका राष्ट्रिय प्रवक्ता सम्बित पात्राले विपक्षीहरूको प्रदर्शनलाई ‘असफल प्रयास’ को संज्ञा दिएका छन्। उनले केही समूहले अशान्ति फैलाउन खोजेको आरोप लगाउँदै निर्वाचन आयोगमाथि विपक्षी नेताहरूले लगाएका आरोपको आलोचना गरेका छन्।

सीजेपी र अन्य विपक्षी समूहले एसआईआर प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै आएका छन्। निर्वाचन आयोगले भने मतदाता नामावलीको पुनरावलोकन नियमित प्रमाणीकरण प्रक्रिया भएको बताउँदै आएको छ। यस विषयमा विपक्षी दल र निर्वाचन आयोगका फरक धारणा छन्।