चैत्र १६, काठमाडौं- भारतीय राजदूतावासले  काठमाडौंमा ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

मंगलवार साझ होटल सोल्टिमा  नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गर्दै भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत गर्नुभएको थियो ।

माननीय शिक्षा मन्त्री श्री देवेन्द्र पौडेल कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो भने नेपालका प्रधानसेनापति महारथी प्रभुराम शर्मा विशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । राजदूत क्वात्राले कार्यक्रमका विशेष अतिथि नेपालका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रभुराम शर्मा र आइटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति प्राध्यापक डा. राम केवल साहलाई वहाँहरुले राष्ट्रप्रति गर्नुभएको उल्लेखनीय सेवा र  वहाँहरुले प्राप्त गर्नुभएको उपलब्धिको कदर गर्दै सम्मान गर्नुभएको थियो ।

नेपाली सेनाका अवकास प्राप्त अधिकृत र जलस्रोत तथा उर्जा आयोगका सचिव श्री दिनेश कुमार घिमिरे लगायतका आइटेक अलम्नाइहरुले भारतका विभिन्न संस्थानहरुमा तालिम लिँदाका दिनहरुको सम्झना गर्नुभएको थियो । राजदूत क्वात्राले आइटेक अन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको बताउनुभयो ।

स्थापना भएको ५७ वर्ष अवधिमा आइटेक अन्तर्गतका कार्यक्रमहरुबाट विश्वभरका दुई लाखभन्दा बढी मानिसहरु लाभान्वित भएका छन् । त्यस्तै विगत १५ वर्षदेखि नेपालका विशेष आवश्यकताहरु पूरा गर्न विशेष तवरले बनाइएका विशेष आइटेक कोर्ष अन्तर्गत हजारौं नेपाली नागरिकहरुलाई प्रशिक्षण दिइएको  जानकारी दिनुभयो ।

कोभिड–१९ महामारीको समयमा पनि नेपाली आइटेक विद्यार्थीहरुको निरन्तरतालाई सुनिश्चित गर्दै इ–आइटेक कोर्षमार्फत निबार्ध रुपमा प्रशिक्षण प्रदान गर्न भारतीय राजदूतावासले चालेका प्रयासहरुको माननीय मन्त्री देवेन्द्र पौडेलले प्रशंसा गर्नुभयो ।