इंग्लिस प्रिमियर लिग फुटबलको २०२६/२७ सिजनअन्तर्गत छैटौँ चरणका खेल आज शनिबारदेखि सुरु हुँदैछन्। तीन साताको अन्तर्राष्ट्रिय विश्रामपछि फर्किएको लिगमा आज विभिन्न ६ खेल हुँदैछन्। दिनको प्रमुख खेलमा आर्सनलले लिड्स युनाइटेडसँग खेल्दा म्यानचेस्टर युनाइटेडले टोटनहम हट्सपरको सामना गर्नेछ।

आजको पहिलो खेलमा आर्सनलले नेपाली समयअनुसार साँझ ५ः१५ बजे लिड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। घरेलु मैदान इमिरेट्स स्टेडियममा हुने खेलमा आर्सनल पछिल्लो हार बिर्सँदै जितको लयमा फर्कने लक्ष्यमा हुनेछ। पाँचौँ चरणमा आर्सनल ब्राइटनसँग ३–० गोलले पराजित भएको थियो। लिड्स भने जारी सिजनमा अपराजित रहँदै आर्सनललाई चुनौती दिने तयारीमा छ।

आजै राति हुने अर्को आकर्षक खेलमा म्यानचेस्टर युनाइटेडले टोटनहम हट्सपरलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा आतिथ्य दिनेछ। नेपाली समयअनुसार राति १०ः१५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्। जारी सिजन अपेक्षाअनुसार प्रदर्शन गर्न संघर्ष गरिरहेको युनाइटेड घरेलु मैदानको फाइदा उठाउँदै अंक सुधार गर्न चाहन्छ। यता, टोटनहम पनि लिगमा आफ्नो स्थिति सुधार गर्ने योजनामा हुनेछ।

शनिबारका अन्य खेलमा एस्टन भिल्ला र ब्रेन्टफोर्ड, चेल्सी र बर्नमाउथ, इप्सविच टाउन र फुलहम तथा सन्डरल्यान्ड र ब्राइटनबीच प्रतिस्पर्धा हुनेछ। यी चारवटै खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछन्।

छैटौँ चरणका खेल आइतबार र सोमबार पनि जारी रहनेछन्। आइतबार क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट तथा हल सिटी र एभर्टनबीच खेल हुनेछ। आइतबारकै अर्को चर्चित भिडन्तमा लिभरपुलले म्यानचेस्टर सिटीको सामना गर्नेछ। उक्त खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ।

छैटौँ चरणको अन्तिम खेलमा सोमबार कोभेन्ट्री सिटी र न्युक्यासल युनाइटेड भिड्नेछन्। उक्त खेल नेपाली समयअनुसार मंगलबार बिहान १२ः४५ बजे सुरु हुनेछ।

पाँचाैँ चरणको खेल सम्पन्न हुदाँसम्म म्यानचेस्टर सिटि पाँच खेलमा पाँच जित सहित १५ अंकका साथमा पहिलो स्थानमा रहेकाे छ।