खै! नेपालमा बसेर यो चालक पेशाबाट खासै चमत्कार गर्न सकिएला जस्तो छैन, विदेशतिर पो हानिनुपर्छ कि क्या हो! अचेल यस्तै विचारमा छु म त!

छोटो गफगाफको क्रममा छेवैमा बसेका यात्रुसँग चालक पूर्णलालले गुनासो पोखे।

“गोदावरी – लगनखेल – रत्नपार्क – जमल” लेखिएको चिटिक्क परेको हरियो विद्युतीय साझा बस कार्यालय समयको ट्राफिक व्यस्तताले सातदोबाटोमा लामो जाममा परेको बेला चालकको यो कुरा सुनेर ती अधवैंसे यात्रुले पछाडिको सिटमा बसिरहेका यात्रुहरूतर्फ देखाउँदै भने, “हेर्नुस् त! तपाईंले चालक बनेर आफ्नै देशका नागरिकलाई कति सहयोग र खुशी दिँदै हुनुहुन्छ। दिनहुँ सबैलाई गन्तव्यमा पुग्न सहयोग गर्दै हुनुहुन्छ। यो देखेर तपाईंलाई कत्ति पनि सन्तुष्टि र खुसी मिल्दैन?”

यो सुनेर पूर्णलालले अलि गहिरिएर सोचे जस्तो गरी पछाडितिर हेरे। उनले देखे: स्कुल कलेजका विद्यार्थीहरू, नवदम्पतिहरू, प्रेमिल जोडीहरू, बिरामीहरू, निजामती जागिरे, शिक्षक लगायत विभिन्न उमेर समूह र पेशाका व्यक्तिहरूलाई आफ्नै गाडीको सीटमा देखेर उनी निकै गम्भीर र भावुक भई चुपचाप लागेको देखेपछि ती अधबैंसे यात्रुले भने, “देख्नुभयो त! तपाईंले त सिंगो नेपाल नै सँगै बोकेर हिँडिरहनुभएको छ। तपाईं कति भाग्यमानी! अब आफैं भन्नुस्, के सेवा र आत्मसन्तुष्टिभन्दा ठूलो कुरा संसारमा अरू केही होला र!”