१) मुक्तक

संस्कृतिको धरोहर र गर्व बन्नुपर्छ

यही खुसियाली यत्रतत्र सर्व बन्नुपर्छ

कहिले नि चाडबाड यहाँ हुनु हुन्न दशा,

आफ्नोपन र सद्भाव छर्ने पर्व बन्नुपर्छ।

२) मुक्तक

उमङ्ग र खुसी भर्दै आउनुपर्छ दसैँ

दुःख पिर र पीडा हर्दै आउनुपर्छ दसैँ

सबैको इच्छा पूर्ण गर्ने आशीर्वाद बोकी,

भाइचाराको सन्देश छर्दै आउनुपर्छ दसैँ।

३) मुक्तक

प्रकृति र लेकबेसीले दसैँ बोकी ल्याउन

नदीनाला खोलेसीले दसैँ बोकी ल्याउन

सम्झिएर बुवाआमा यो घर देशलाई,

झोलाभरि परदेशीले दसैँ बोकी ल्याउन।

४) मुक्तक

भोका पेटहरूले पनि खान पाए हुन्थ्यो

पीडितको आँखाभरि खुसी छाए हुन्थ्यो

हुनेखाने महाजनको घरमा मात्र होइन,

दुखीहरूको घरमा पनि दसैँ आए हुन्थ्यो।

५) मुक्तक

नाना थरी कुरा गर्न कसले लाउँछ होला

दुष्प्रचारले कान भर्न कसले लाउँछ होला

भाइचारालाई बिथोलेर समाजलाई भाड्दै,

जहिले तिमीलाई छर्न कसले लाउँछ होला।

६) मुक्तक

बनाई प्रिय मनकी चरी राखेको छु भन्दै

लुकाई दिलमा घरिघरि राखेको छु भन्दै

गयो आज धोकेबाजले लुटी अस्मिता यो,

तिमीलाई नै मुटुभरि राखेको छु भन्दै।

७) मुक्तक

कहिले वारि कहिले पारि किन हुन्छ होला

आफ्नै जीवन पनि भारी किन हुन्छ होला

बहुरूपी रङ देखाई जसले दिन्छ धोका,

उही दिलको हाराहारी किन हुन्छ होला?

८) मुक्तक

सम्झाउँदै फकाई मैले पठाइदिएको छु

दुखाईको दबाइ मैले पठाइदिएको छु

राख्नु तिमीले सगाँलेर सधैँ जतन गरी,

थोरै खुसी मिसाई मैले पठाईदिएको छु।

९) मुक्तक

अलिकति किन्तु थोरै फगत चल्दो रहेछ

हाहा हुहु गरेर नै सारा जगत चल्दो रहेछ

असललाई पाखा लगाई खराबहरूबीच,

यसरी नै सधैँभरि मिलीभगत चल्दो रहेछ।

१०) मुक्तक

मुक्तक हुन्न भन्नेले नि मुक्तक लेख्न थाले

महाकवि बन्नेले नि मुक्तक लेख्न थाले

गजल गीत कविता नै मूल विधा हुन् भन्दै,

पहिले खेदो खन्नेले नि मुक्तक लेख्न थाले।