हिमपातले सडक अवरुद्ध भएपछि उपचारका लागि जिल्ला बाहिर लैजान नसकिएकी हुम्लाकी एक महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। नाम्खा गाउँपालिका–५ की ३६ वर्षीया सोनाम ल्यामु तामाङलाई पाठेघरमा समस्या देखिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो।
गाउँमा उपचार सम्भव नभएपछि तामाङलाई तत्काल जिल्ला बाहिर लैजानुपर्ने अवस्था थियो। तर, लगातारको हिमपातपछि सडक अवरुद्ध हुँदा स्थलमार्गबाट बिरामीलाई लैजान सम्भव भएन। उपचारमा ढिलाइ हुन सक्ने अवस्था आएपछि गाउँपालिकाले हवाई उद्धारका लागि पहल गरेको थियो।
गाउँपालिकाको अनुरोधपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट तामाङलाई सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पुर्याइएको हो। प्रदेश अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।
पछिल्लो समय हिमपात बढेपछि हुम्लाको यातायात सेवा प्रभावित हुँदा गम्भीर बिरामीलाई उपचारका लागि जिल्ला बाहिर लैजान समस्या भएको छ।

प्रतिक्रिया