बाढीका कारण सडक सञ्जाल विच्छेद भएको ४४ दिनपछि रसुवाको उत्तरगया गाउँपालिकास्थित पैरेबेँसीबाट नुवाकोटको शान्तिबजार जोड्ने गरी तुइन सञ्चालनमा ल्याइएको छ।

गत भदौ १० गतेको भोटेकोशी बाढीले सडक बगाएपछि उत्तरगया गाउँपालिका वडा नं. १, २ र ३ का बासिन्दा लामो समयदेखि यातायात सम्पर्कबाट विच्छेद भएका थिए। बुधबारदेखि नुवाकोटको किस्पाङ गाउँपालिका-५ शान्तिबजार जोड्ने तुइन सञ्चालनमा आएसँगै स्थानीयको दैनिक आवागमन र खाद्यान्न ढुवानी सहज भएको छ।

एक पटकमा एक जना मात्रै, रेडक्रसका स्वयंसेवक परिचालन

यात्राको जोखिम र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै तुइनबाट एक पटकमा एक जनालाई मात्र वारपार गराउने व्यवस्था मिलाइएको छ।

स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठका अनुसार तुइनलाई दुवै किनारबाट सुरक्षित रूपमा तान्न र यात्रुलाई सहजीकरण गर्न नेपाल रेडक्रस सोसाइटीका दुई-दुई जना कर्मचारी तथा स्वयंसेवक खटाइएको छ।

सडक पुनर्निर्माण नभएसम्मका लागि गरिएको यो वैकल्पिक प्रबन्धले स्थानीय बासिन्दालाई ठूलो राहत दिएको छ।