दृष्टि जीवनको उज्यालो हो। संसारलाई देख्ने, बुझ्ने, सिक्ने, काम गर्ने र आत्मनिर्भर भएर अघि बढ्ने आधार दृष्टि नै हो। त्यसैले आँखा स्वस्थ हुनु केवल राम्रोसँग देख्न सक्नुको विषय होइन, यो शिक्षा, रोजगारी, उत्पादकत्व, सामाजिक सहभागिता र समग्र जीवनस्तरसँग जोडिएको स्वास्थ्य तथा विकासको महत्त्वपूर्ण विषय हो।
यस वर्षको विश्व दृष्टि दिवस ‘आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं’ भन्ने राष्ट्रिय नाराका साथ मनाउँदै गर्दा हामीले आँखाको स्वास्थ्यप्रतिको आफ्नो बुझाइ र प्राथमिकतालाई अझ फराकिलो बनाउन आवश्यक छ।
विश्वस्तरमा भने अन्तर्राष्ट्रिय अन्धोपन निवारण एजेन्सी (आइएपिबी) ले ‘आँखालाई माया गरौं’ अभियानमार्फत सबैका लागि सुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवाको आवश्यकता उजागर गर्दै आएको छ। यो वर्षको विश्व दृष्टि दिवस विश्वर अक्टोबर ८ विभिन्न कार्यक्रम गर्दै मनाइँदै छ।
नेपालले आँखा स्वास्थ्यको क्षेत्रमा पछिल्ला दशकमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। केही दशकअघिसम्म देशमा आँखा उपचारका लागि सीमित पूर्वाधार, न्यून जनशक्ति र अत्यन्तै सीमित सेवा पहुँच थियो। सन् १९७८ मा नेपाल नेत्रज्योति संघको स्थापना हुँदा आँखा स्वास्थ्य सेवा प्रारम्भिक अवस्थामै थियो।
आज देशका विभिन्न भूगोलमा आँखा अस्पताल, उपचार केन्द्र, विशेषज्ञ सेवा र सामुदायिक कार्यक्रम विस्तार भएका छन्। हाल नेपालमा संघले मात्र मात्र २८ वटा आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्रमार्फत वार्षिक ३० लाख भन्दा बढीलाई आँखा उपचार र तीन लाख भन्दा बढी बिरामीलाई शल्यक्रिया सेवा प्रवाह गरिरहेको छ।
आँखा स्वास्थ्यमा भएको प्रगतिले अन्धोपन न्यूनीकरणमा पनि महत्त्वपूण योगदान दिएको छ। सन् १९८१ मा नेपालमा अन्धोपनको अवस्था शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२२ को राष्ट्रिय आएएबी सर्वेक्षणमा यो घटेर शून्य दशमलव २८ प्रतिशतमा पुगेको छ। यो उपलब्धि सरकार, आँखा स्वास्थ्य क्षेत्र, स्वास्थ्यकर्मी, विकास साझेदार, गैरसरकारी संस्था तथा समुदायको लामो समयदेखिको सामूहिक प्रयासको परिणाम हो।
हामीले एउटा महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ–अन्धोपन घट्दैमा आँखाको स्वास्थ्यसम्बन्धी सबै चुनौती समाप्त भएका छैनन्। चुनौतीको स्वरूप परिवर्तन हुँदै गएको छ। नेपालमा उपचार नगरिएको मोतीबिन्दु अझै पनि अन्धोपनको प्रमुख कारण हो।
सन् २०२२ को आएएबी सर्वेक्षणअनुसार ५० वर्षभन्दा माथिका व्यक्तिमा दुवै आँखाको अन्धोपनमध्ये ६५ दशमलव तीन प्रतिशत उपचार नगरिएको मोतीबिन्दुका कारण रहेको छ। त्यस्तै, गम्भीर र मध्यम दृष्टि क्षमतामा कमी आउनुको प्रमुख कारण पनि मोतीबिन्दु नै देखिएको छ।
यससँगै ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहका कारण हुने आँखाका समस्या, उमेरसँग सम्बन्धित दृष्टि समस्या र दृष्टिदोषजस्ता समस्या पनि बढ्दो रुपमा देखा परेका छ। बदलिँदो जीवनशैली, बढ्दो औसत आयु, डिजिटल उपकरणको अत्यधिक प्रयोग र नसर्ने रोगको बढ्दो जोखिमले आँखा स्वास्थ्यका चुनौतीलाई अझ जटिल बनाउँदै छ।
त्यसैले अबको आँखा स्वास्थ्य सेवा केवल उपचार र शल्यक्रियामा केन्द्रित भएर पुग्दैन। रोकथाम, प्रारम्भिक पहिचान, नियमित परीक्षण, उपचार, पुनस्र्थापना र जनचेतना – यी सबैलाई एकीकृत रूपमा अघि बढाउनुपनपर्छ।
विशेषगरी बालबालिकाको दृष्टि स्वास्थ्यमा हाम्रो ध्यान अझ बढी केन्द्रित हुनुपर्छ। बालबालिकाले आफूलाई दृष्टि समस्या भएको कुरा सधैं व्यक्त गर्न सक्दैनन्। दृष्टि समस्या समयमै पहिचान हुन नसक्दा त्यसले उनीहरूको सिकाइ, शैक्षिक उपलब्धि र भविष्यका अवसरमा समेत असर पार्न सक्छ। त्यसैले घर, विद्यालय र स्वास्थ्य संस्थाबिचको समन्वयमा बालबालिकाको नियमित दृष्टि परीक्षणलाई प्राथमिकता दिन आवश्यक छ।
आँखाको स्वास्थ्यलाई स्वास्थ्य क्षेत्रको सीमाभित्र मात्र राखेर हेर्नु पनि उचित हुँदैन। राम्रो दृष्टिले बालबालिकाको सिकाइदेखि वयस्कको रोजगारी र उत्पादकत्वसम्म प्रत्यक्ष प्रभाव पार्छ। विश्वव्यापी रूपमा भएका अनुसन्धानहरूले दृष्टि सुधारका कारण शिक्षा र कार्यस्थलको उत्पादकत्वमा सकारात्मक प्रभाव पार्ने देखाएका छन्। त्यसैले आँखाको उपचारमा गरिएको लगानी वास्तवमा मानव पुँजी र देशको उत्पादकत्वमा समेत गरिएको लगानी हो। यद्यपि सेवा विस्तारसँगै अर्को महत्त्वपूर्ण प्रश्न उठ्छ– के सेवा आवश्यक पर्ने सबै नागरिकसम्म सेवा पुगेको छ?
भौगोलिक विकटता, आर्थिक अवस्था, जनचेतनाको कमी, उपचारको आवश्यकता महसुस नहुनु र शल्यक्रियासँग सम्बन्धित डरजस्ता कारणले अझै धेरै मानिस आँखा उपचारको पहुँचबाट बाहिर छन्। आएएबी सर्वेक्षणले मोतीबिन्दुको शल्यक्रिया सेवा लिन नसक्नुका प्रमुख कारणमा आर्थिक पहुँच, भौगोलिक पहुँच, उपचारको आवश्यकता महसुस नहुनु र शल्यक्रियाको डरलाई देखाएको छ।
यसले अबको हाम्रो प्राथमिकता स्पष्ट गर्छ – अस्पताल र उपचार केन्द्र थप्नुका साथै सेवा नपुगेका मानिससम्म सेवा पुर्याउनु।आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग जोड्नुपर्छ, समुदायमै प्रारम्भिक परीक्षण र परामर्शको व्यवस्था गर्नुपर्छ, आवश्यकताअनुसार विशेषज्ञ सेवामा रिफरल गर्ने प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ, दुर्गम क्षेत्रमा टेलिअफ्थाल्मोलोजी र डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ, आर्थिक रूपमा कमजोर तथा सामाजिक रूपमा पछाडि परेका समुदायका लागि सेवा पहुँच र वहनीयतालाई विशेष प्राथमिकता दिनु अहिलेको आवश्यकता र अपरिहार्यता समेत हो।
यही अवधारणाले ‘इन्टिग्रेटेड पिपुल–सेन्ट्रेड आई केयर’लाई कार्यान्वयन गर्न मद्दत गर्छ, अर्थात् मानिसलाई सेवा खोज्दै टाढा जान बाध्य बनाउनेभन्दा सम्भव भएसम्म सेवा मानिसकै नजिक पुर्याउने। आगामी दिनमा आँखा स्वास्थ्य सेवाको विस्तार समानता, समावेशिता र पहुँचको सिद्धान्तमा आधारित हुनुपर्छ।
यस वर्षको विश्व दृष्टि दिवसको सन्दर्भमा विश्वव्यापी अभियान पनि अझ महत्त्वपूर्ण बनेको छ। आइएपिबीका अनुसार विश्वका एक अर्बभन्दा बढी मानिसलाई आवश्यक आँखा स्वास्थ्य सेवा र उपचारमा अझै पहुँच छैन। ‘लभ योर आइज’ अभियानले आँखा स्वास्थ्यलाई विद्यालय, कार्यस्थल र नीति निर्माणको तहसम्म प्राथमिकतामा राख्न आह्वान गरेको छ।
सन् २०२६ को नोभेम्बरमा आयोजना हुने ‘ग्लोबल सम्मिट फर आई हेल्थ’ले पनि दृष्टिलाई स्वास्थ्य मात्र नभई देश, समुदाय र व्यक्तिको विकाससँग जोडेर हेर्ने अवधारणा अघि सारेको छ। संयुक्त राष्ट्रसंघको ‘भिजन फर एभ्रिवन’ सम्बन्धी प्रस्तावको पाँच वर्षपछि हुन लागेको यो सम्मेलनले आँखा स्वास्थ्यमा नयाँ प्रतिबद्धता, नीति र लगानीलाई गति दिने अवसरका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
नेपालका लागि पनि यो विश्व दृष्टि दिवस उपलब्धि सम्झने मात्र नभई आगामी यात्राको दिशा तय गर्ने अवसर पनि हो। हामीले अन्धोपन घटाउने यात्रामा उल्लेखनीय सफलता हासिल गरेका छौं। अबको लक्ष्य उपचारयोग्य अन्धोपन घटाउनुका साथै हरेक नागरिकले समयमै आँखा परीक्षण गर्न पाउने, आवश्यक उपचार प्राप्त गर्ने र आर्थिक वा भौगोलिक कारणले आफ्नो दृष्टि गुमाउन नपर्ने अवस्था सिर्जना गर्नु हो।
आँखाको हेरचाह सरकार वा स्वास्थ्य संस्थाको मात्र जिम्मेवारी होइन। आफ्नो आँखाको नियमित परीक्षण गर्ने, दृष्टिमा आएको परिवर्तनलाई बेवास्ता नगर्ने, बालबालिकाको दृष्टिप्रति सचेत हुने र आवश्यक पर्दा समयमै उपचार लिने जिम्मेवारी प्रत्येक नागरिकको हो।
दृष्टि गुमेपछि पछुताउनु भन्दा समयमै त्यसको रक्षा गर्नु बुद्धिमानी हो। एउटा व्यक्तिको दृष्टि जोगिँदा उसको शिक्षा, रोजगारी, आत्मनिर्भरता र परिवारको भविष्यसमेत जोगिन सक्छ। त्यसैले यस वर्षको विश्व दृष्टि दिवसमा एउटा सरल तर अर्थपूर्ण प्रतिबद्धता गरौं– आँखालाई माया गरौं, नियमित जाँच गरौं, समयमै उपचार गरौं र आफ्नो मात्र होइन, अरूको दृष्टिको पनि रक्षा गरौं किनकि दृष्टिको रक्षा गर्नु भनेको आँखाको मात्र होइन, मानिसको उज्यालो भविष्यको रक्षा गर्नु हो।
–मिश्र नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक तथा आइपिबीका नेपाल अध्यक्षसमेत हुन्।

प्रतिक्रिया