नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगनकुमार थापाको विशेष आग्रहपछि उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।

चालिसेले फेसबुकमार्फत आफूले पार्टीका लागि काम गर्ने उद्देश्यले १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएको बताएका हुन्। थापाको आग्रहलाई सम्मान गर्दै उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन्।

आफ्नो निर्णयप्रति केही साथीले असन्तुष्टि जनाए पनि यो निर्णय पार्टीको एकता, संस्थागत मर्यादा र सामूहिक हितलाई ध्यानमा राखेर गरिएको उनले बताएका छन्।

‘यो निर्णय चुनाव लक्षित छैन र व्यक्ति लक्षित पनि छैन। पार्टी प्रणालीमा सभापतिको राजनीतिक निर्णयको सम्मान गर्नु मैले आफ्नो कर्तव्य ठानेरै यो निर्णय लिएको हुँ,’ चालिसेले भनेका छन्।

पार्टीका जिम्मेवारी प्रतिष्ठाभन्दा परिणामका विषय भएको उनले बताएका छन्। भूमिका आफैँले रोज्नेभन्दा पार्टीले आवश्यकता अनुसार जिम्मेवारी दिने प्रणालीले पार्टीलाई बलियो बनाउने उनको भनाइ छ। सामूहिक शक्ति र एकताबद्ध प्रयासबाट मात्रै पार्टीलाई सुदृढ बनाउन सकिने उनले बताएका छन्।

हेर्नुस् उनको फेसबुक स्टाटस
नेपाली काग्रेसको ऐतिहासिक १५ औ महाअधिवेशनबाट उपसभापति पदमा रहेर पार्टीका लागि काम गर्ने उद्देश्यका साथ मैले उम्मेदवारी दिएको थिए।
यसक्रममा देशभरका साथीहरूबाट प्राप्त माया,विश्वास,समर्थन र हौसला प्रति म ह्रदयदेखि नै आभारी छु।
श्रद्धेय पार्टी सभापति गगन कुमार थापाको विशेष आग्रहलाई सम्मान गर्दै मैले आफ्नो मनोनयन फिर्ता गरेको हुँ। यो निर्णयबाट धेरै साथीहरूले आश्चर्य व्यक्त गर्दै असन्तुष्टि जाहेर गर्नुभएको छ। यसकालागि म क्षमा माग्न चाहन्छु। साथीहरूमा मेरो अनुरोध छ , यो निर्णय बिलकुल पार्टीको एकता, संस्थागत मर्यादा र सामूहिक हित लाई ध्यानमा राखी गरिएको निर्णय थियो। यो निर्णय चुनाव लक्षित छैन र व्यक्ति लक्षित पनि छैन , यसमा साथीहरू स्वतन्त्र हुनुहुन्छ। पार्टी प्रणालीमा सभापतिको राजनैतिक निर्णयको सम्मान गर्नु मैले आफ्नो कर्तव्य ठानेरै यो निर्णय लिएको हुँ।
हामीले पार्टीका लागि केही गर्न भनेर भूमिका खोजेका हौ। कुनै पनि भूमिका अन्तिम हुँदैनन् र भूमिका आफूले रोज्ने भन्दा पार्टीले खोज्ने प्रणालीले नै पार्टी प्रणालीलाई बलियो बनाउँदछ। पार्टीका जिम्मेवारीहरू प्रतिष्ठा भन्दा परिणामका विषय हुन।सामूहिक शक्ति र एकताबद्ध प्रयासले मात्र हामीले हाम्रो पार्टीलाई सुदृढ बनाउन सक्दछौ।
साथीहरूको विश्वास र सद्भावप्रति गहिरो सम्मान छ।
जय नेपाल।