नेपाली कांग्रेस २–० को १५औं महाधिवेशन नीतिभन्दा पनि नेता चयन र व्यवस्थापनमै केन्द्रित भएको छ। काठमाडौंमा आइतबारदेखि जारी महाधिवेशनले पार्टी सञ्चालनको नयाँ नीति तथा कार्यक्रम निर्माण गर्ने धेरैको अपेक्षा र बुझाइ थियो तर विचार निर्माण र कार्यक्रमलाई औपचारिकतामा सीमित गर्दै महाधिवेशन नेता व्यवस्थापनका लागि विधान संशोधन र नेतृत्व चयनमा केन्द्रित भएको छ। महाधिवेशनअन्र्तगत सोमबारको बन्दसत्रमा नेताहरूले चारवटा प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदन प्रदेशअनुसार छलफल गरी पारित गर्ने भनिए पनि छलफलबिनै पारित भएका छन्।
यसअघिका दुई नियमित महाधिवेशनमा नेतृत्वमा रहेका तत्कालीन नेताहरूले विधान संशोधन गरी पदाधिकारी बढाउने प्रस्ताव गरेका थिए। अहिले विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका नेताहरूले त्यतिबेला गुट र नेताहरूलाई व्यवस्थापन गर्न पदाधिकारी र केन्द्रीय समितिको आकार बढाइएको भन्दै विरोध गरेका थिए। आफ्नै विगतको अभिव्यक्तिविपरीत उनीहरूले विशेष महाधिवेशनबाट पनि पदाधिकारी र केन्द्रीय समितिको आकार बढाएका थिए।
अहिले फेरि नियमित महाधिवेशनबाट पनि नेता व्यवस्थापन गर्न पदहरू बढाइएको छ। नेता व्यवस्थापनमा नेतृत्वलाई सहज हुनेगरी विधान संशोधन गरिएको भन्दै आलोचना भएको छ।
विशेष महाधिवशेनबाट एउटा पक्ष नेतृत्वमा पुगेपछि पार्टीभित्र उत्पन्न आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेको पक्ष अहिले महाधिवेशनमा छ। निवर्तमान सभापति देउवा पक्ष पनि मंसिरमा महाधिवेशनको तयारीमा छ।
अहिले १५औं महाधिवेशनमा जुटेको कांग्रेसले पहिलो पटक वरिष्ठ उपसभापतिसहित २९७ सदस्य केन्द्रीय समितिको व्यवस्था गरेको छ। एक महिला उपसभापति, एक महिला महामन्त्री र सहमहामन्त्रीतर्फ थप पद कांग्रेसले सिर्जना गरिएको छ। १४औं महाधिवेशनसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र एक कोषाध्यक्षको व्यवस्था थियो। महाधिवेशनबाट संशोधित विधानमा केन्द्रीय समिति २५ पदाधिकारीसहित २९७ सदस्यीय हुने व्यवस्था छ।
२५ पदाधिकारीमा एक सभापति, एक वरिष्ठ उपसभापति, कम्तीमा एक महिलासहित चार उपसभापति, कम्तीमा एक महिलासहित तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ। १५ सहमहामन्त्रीमध्ये समावेशी क्लस्टरबाट नौ जना चुनिने छन् भने दुई जना खुला प्रतिस्पर्धाबाट आउने छन्। कोषाध्यक्ष, एक महिलासहित चार सहमहामन्त्री भने सभापतिबाट मनोनीत हुने छन्। केन्द्रीय समितिमा एक प्रवक्ता र एक सहप्रवक्ता रहने व्यवस्था पनि गरिएको छ।
गुटबन्दी अन्त्य
महाधिवेशनको बन्दसत्रमा बुधबार सभापति गगनकुमार थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य भएको दाबी गरेका छन्। आफू र आफ्नालाई मात्र संरक्षण गरेको आरोप थापामाथि लागिरहेको छ। उनले नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा आफ्नो नाममा कसैलाई पनि मतदानको चिट नबाँड्न आग्रह गरेका छन्।
केन्द्रीय समितिमा निकटहरूलाई व्यवस्थापन गर्न सक्रिय थापाले भने, ‘अब विशेष नविशेष भन्ने सकियो, यहाँ अब कुनै पक्ष विपक्ष अब छैन। अब छत्तिसे, चौहत्तरे, देउवा पक्ष, अर्को पक्ष कोही छैन।’
उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक प्रतिवेदन बन्दसत्रले पारित गरेको छ। बन्दसत्रलाई खुला संसारले सुन्ने गरी अघि बढाइएको उल्लेख गर्दै शर्माले भने, ‘बन्दसत्र पनि खुला संसारले सुन्ने गरी हामीले सञ्चालन गरेका छौं। यो पनि ऐतिहासिक हो।’
उनले कांग्रेसले हारजित दुवै अवस्थामा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्ने बताए। ‘कांग्रेस सुन्न चाहन्छ, हार्दा र जित्दा पनि हाँस्छ। यस्तो कांग्रेस बनाउन खोजेको हो,’ उनले भने, ‘उत्तर भएको कांग्रेस, भएको कांग्रेस, गुनासो होइन, आशा र विश्वास र भरोसा गर्ने कांग्रेस हो। अब निराशा होइन, यस्तो कांग्रेस बनाउने हो।’
महामन्त्री गुरुराज घिमिरेले कांग्रेसलाई बलियो र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने बताए। पार्टीको सांगठनिक प्रतिवेदनमाथि उठेका प्रश्नमा धारणा राख्दै घिमिरेले कांग्रेसलाई थप बलियो, व्यवस्थित र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने प्रस्ताव कार्यान्वयनमा लगिने बताए।

प्रतिक्रिया