फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई आगामी निर्वाचनमा चुनौती दिने रणनीति बनाउन युरोपेली फुटबल नेतृत्व सक्रिय भएको छ। उम्मेदवार तय गर्न समयसीमा नजिकिँदै गर्दा युरोपेली फुटबल महासंघ (यूईएफए)ले आफ्ना ५५ सदस्य राष्ट्रसँग छलफल तीव्र पारेको हो।
यूईएफएले आज जर्मनीको बर्लिनमा आफ्ना सबै ५५ सदस्य संघका प्रतिनिधिलाई बोलाएर विशेष शिखर बैठक गर्दैछ। यसअघि नै तय भएको उक्त बैठक इन्फान्टिनोविरुद्ध नयाँ नेतृत्व खोज्ने युरोपेली प्रयासकै बीचमा हुन लागेको हो।
इन्फान्टिनोको विश्वकपसँग सम्बन्धित निजी लगानी योजना सार्वजनिक भएको केही दिनमै असफल भएपछि यूईएफए र फिफाबीचको लामो समयदेखिको अविश्वास थप गहिरिएको बताइएको छ। यूईएफएले इन्फान्टिनोको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै फिफाको नेतृत्व परिवर्तनका लागि पहल अघि बढाएको हो।
यूईएफएको दीर्घकालीन योजनामा विश्वकपसम्बन्धी सम्झौतामा सम्भावित आर्थिक अनियमितताको विषयमा इन्फान्टिनोविरुद्ध स्विट्जरल्यान्डमा आपराधिक उजुरीको तयारीसमेत रहेको छ। प्रमाण संकलनका लागि अमेरिकाको अदालतबाट अनुमति लिन खोजिएको पनि बताइएको छ।
यूईएफएका महासचिव थियोडोर थियोडोरिडिसले यसअघि फिफाको गतिविधि आफ्नो सीमाभन्दा बाहिर गएको भन्दै त्यसलाई पुनः सही दिशामा ल्याउन आवश्यक रहेको बताएका थिए।
फिफाका २११ सदस्य राष्ट्रमध्ये यूईएफएका ५५ सदस्यले अध्यक्ष निर्वाचनमा मतदान गर्न पाउँछन्। यो कुल मतको एक चौथाइभन्दा बढी हो। उपलब्ध सूचनाका आधारमा इन्फान्टिनोले अहिलेसम्म करिब ९० मतको समर्थन सुनिश्चित गरिसकेको अनुमान गरिएको छ। यद्यपि उनका प्रतिस्पर्धी को हुने भन्ने अझै स्पष्ट छैन।
यूईएफएभित्रै भने इन्फान्टिनोलाई लिएर एकमत छैन। अजरबैजान र लाट्भियाले उनलाई समर्थन गर्ने संकेत दिएका छन्। इन्फान्टिनोले बुधबार चेक गणतन्त्रको राजधानी प्रागमा त्यहाँका फुटबल तथा सरकारी अधिकारीसँग भेटवार्ता गरेका थिए।
इन्फान्टिनोविरुद्ध उम्मेदवार खडा गर्न यूईएफए र उसका समर्थकहरूले आगामी नोभेम्बर १८ सम्म कम्तीमा एक उम्मेदवार तय गर्नुपर्नेछ। फिफाको अध्यक्ष निर्वाचन आगामी मार्च १८ मा मोरक्कोको राबातमा हुँदैछ।

प्रतिक्रिया