चितवन -मंसिर, १०,  नेकपा एमालेको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ ।

जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल निर्माण सहित आवास व्यवस्थापनको सबै काम पूरा भएको हो । आज उद्घाटन हुने महाधिवेशन स्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको जिल्ला अध्यक्ष रावलले बताइन् । जिल्ला प्रवेश गर्ने विभिन्न नाका र जिल्लाका मुख्य राजमार्गमा ४५ भन्दा बढी स्वागतद्वार निर्माण गरिएको रावलले बताइन् ।

राजमार्गको दुवै छेउमा नेकपा एमाले र अनेरास्ववियुको झण्डा तथा ध्वजा पताका राखिएको छ । एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ । महाधिवेशनको उद्घाटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरीबाट पाँच लाख जनसहभागिता जुनाउने गरी समन्वय भइरहेको रावलले बताइन ।
नेकपा एमालेको महाधिवेशनमा आउने २९७ प्रतिनिधि, स्वदेशी तथा विदेशी पाहुना गरी तीन हजार ५०० जनाका लागि आवस व्यवस्थापनको काम भएको आवास व्यवस्थापन समितिका संयोजक एवं सङ्घीय सांसद कृष्णभक्त पोखरेलले बताए । महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउने क्रम जारिरहेको पोखरेलले बताए ।