श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले सरकारलाई आफ्नै सरकार नढाल्न र पाँच वर्षसम्म टिकाएर जनअपेक्षाअनुसार काम गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद राईले नयाँ राजनीतिक शक्तिको उदय र विगतको राजनीतिक इतिहास स्मरण गर्दै वर्तमान सरकारलाई आफ्नो कार्यकाल पूरा गर्नेतर्फ केन्द्रित हुन आग्रह गरेका हुन्।

रास्वपालगायत नयाँ शक्तिको उदयलाई उनले विसं २०१५ मा नेपाली कांग्रेस र २०६४ मा माओवादीले बहुमत प्राप्त गरेको स्मरण गरे। अहिले रास्वपा पनि त्यस्तै शक्तिशाली रूपमा उदाएको उल्लेख गर्दै उनले नयाँ शक्तिका नेताहरूलाई विगतबाट पाठ सिक्न आग्रह गरे।

‘आज रास्वपा त्यत्तिकै शक्तिशाली रूपमा छ। यो सतीले सरापेको देश भनिएको छ, जोगिनुहोला। युवा साथीहरू हुनुहुन्छ, सत्ता र सरकार जोगाएर पाँच वर्षसम्म टिकाउनुभयो भने जनताले आशा गरेअनुसार हुनेछ,’ उनले भने।

विभिन्न मन्त्रालयका मन्त्रीहरूले संसद्मा जवाफ दिए पनि सरकार प्रमुखबाट प्रतिपक्षले उठाएका विषयमा उत्तर नआएको भन्दै उनले दुःख व्यक्त गरे।

‘आज म अधिवेशन सकिँदै गर्दा सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किँदैछु भनेर भन्नुपर्ने बाध्यता छ। भोजपुरे जनताहरूको घर–आँगनसम्म म उत्साहका साथ फर्केको छैन, किनभने सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट उत्तर दिन सक्नुभएन,’ राईले भने।

उनले संसद्मा संख्याका आधारमा सरकार दुईतिहाइ नजिक देखिए पनि सत्ताको विपक्षमा रहेको ठूलो जनमतलाई सरकारले बेवास्ता गर्न नहुने बताए। प्रतिपक्षका आवाजलाई बेवास्ता गर्दा विगतका आन्दोलनजस्तै परिस्थिति दोहोरिन सक्ने उनले चेतावनी दिए।