राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता गणेश पराजुलीले विपद्का कारण पीडित बनेका नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभामा सम्बोधन गर्दै पराजुलीले भोटेकोशी–सुनकोशी क्षेत्रमा भएको विपद्को घाउ ओभाउन नपाउँदै पछिल्लो अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको बताए।
घाइतेको उपचारलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले घर, सम्पत्ति र जीवनभरको कमाइ गुमाएका परिवारको मानसिक पीडा कम गर्न राज्यको निरन्तर साथ आवश्यक रहेको बताए।
‘राज्यको उपस्थिति औषधि, उपचार र राहतमा मात्र होइन, पीडितको हात समाउने संवेदनशीलता, निरन्तर साथ र भविष्यप्रतिको भरोसामा पनि देखिनुपर्छ,’ पराजुलीले भने।
मौसम पूर्वानुमानका आधारमा पूर्वसूचना र पूर्वतयारी गरिए पनि ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै उनले प्रत्येक विपद्लाई आगामी दिनका लागि गम्भीर पाठका रूपमा लिनुपर्ने बताए।
पराजुलीले विपद्को समयमा खोज तथा उद्धार, उपचार र राहतमा खटिएका नेपाल सरकारका निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी, राष्ट्रसेवक तथा स्वयंसेवकप्रति धन्यवाद व्यक्त गरे।
त्यस्तै, दातृ निकाय, दाता, गैरआवासीय नेपाली संघ (एनआरएनए), प्रवासी नेपाली समुदाय तथा पीडितका लागि घर र मनको ढोका खोल्ने स्थानीय नागरिकको योगदानको पनि उनले प्रशंसा गरे।
उनले राहत वितरण पहुँच वा प्रभावका आधारमा नभई आवश्यकता र जोखिमका आधारमा हुनुपर्नेमा जोड दिए।
जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्दा उनीहरूको बसाइ सुरक्षित मात्र नभई व्यवस्थित र मर्यादित हुनुपर्ने उनको भनाइ छ।
पराजुलीले विपद्पछिको पुनर्स्थापनामा सडक, पुल, सञ्चार, विद्युत् र खानेपानीजस्ता अत्यावश्यक सेवा तत्काल पुनःस्थापना गर्नुपर्ने बताए।
सडक अवरुद्ध हुँदा अस्पताल पुग्न नसकेर बिरामीको उपचार प्रभावित हुने, किसानको उत्पादन बजारसम्म नपुग्ने तथा दैनिक ज्यालादारीमा निर्भर परिवारको जीविकोपार्जनमा असर पर्ने उनले उल्लेख गरे।
‘हरेक बन्द बाटोको पारि कसैको जीवन, कसैको भोक र कसैको भविष्य हाम्रो पर्खाइमा अडिएको हुन्छ,’ उनले भने।
उनले प्रभावित बस्तीलाई सेवा, बजार र अवसरसँग पुनः जोड्न सुरक्षित वैकल्पिक मार्ग, अस्थायी पुल र नियमित आपूर्तिको व्यवस्था गर्नुपर्ने बताए।
साथै, सम्बन्धित निकायले स्पष्ट समयसीमा बनाएर काम गर्नुपर्ने र प्रगतिबारे नागरिकलाई नियमित तथा विश्वसनीय सूचना दिनुपर्नेमा पनि उनले जोड दिए।
विपद्को समयमा सरकारलाई खबरदारी गर्नु लोकतान्त्रिक दायित्व भए पनि उद्धार, पूर्वतयारीको समीक्षा, कमजोरी सुधार तथा पीडितको पुनर्स्थापनामा सहकार्य गर्नु सबैको साझा जिम्मेवारी भएको पराजुलीले बताए।
‘विपद्ले सरकार र प्रतिपक्ष छुट्याउँदैन, यसले हामी सबैको मानवीय चरित्र र राज्यको सामूहिक क्षमता परीक्षण गर्छ,’ उनले भने, ‘त्यसैले यो समय आरोपको होइन, तथ्यमा आधारित समीक्षा, रचनात्मक सहकार्य र परिणाममुखी कामको हो।’

प्रतिक्रिया