प्रतिनिधिसभा सदस्य आरेन राईले सरकारले भ्रष्टचारका मुद्धामा मुछिएका कति व्यीक्तलाई सरकारले थुनामा राख्यो भन्दै सरकारलाई प्रश्न गरेका छन्।
बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको आरोपमा कति जना पक्राउ परे र कति जना थुनामा परे भन्दै पक्राउ गर्ने र भोलिपल्टै छाड्ने प्रवृत्तिबाट कस्तो सुशासन कायम हुने भन्दै प्रश्न गरे।
‘कति जना पक्रिनुभयो, कति जना थुन्नुभयो? आज पक्रिनुहुन्छ, भोलि छोडिदिनुहुन्छ ? के गरेको यो? कस्तो किसिमको सुशासन हो ?’ उनले प्रश्न गरे।
उनले सरकारले विगतका चर्चित हत्या तथा आपराधिक घटनाको अनुसन्धान अघि बढाउने भन्दै गरेका प्रतिबद्धतामाथि पनि प्रश्न उठाए। निर्मला हत्या प्रकरणको अनुसन्धान कहाँ पुगेको भन्दै उनले राजदरबार हत्याकाण्डको फाइल खोल्ने भनिएको विषयको प्रगतिबारे सरकारसँग जवाफ मागे।
त्यस्तै, गृहबन्धु टी–स्टेट र ह्वाइटबडी काण्ड लगायतका विषयमा सरकारले के काम गरिरहेको छ भन्ने प्रश्न गर्दै उनले यस्ता थुप्रै समस्या रहेको बताए।
सांसद राईले राज्यको रकम अनियमितता गरेको आरोप लागेका व्यक्तिहरूमाथि कारबाही गर्न सरकारलाई आग्रह गरे। संसद्मा सरकारसँग दुई तिहाइनजिकको समर्थन रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने विषयमा सरकारलाई आफ्नो दलले सहयोग गर्न तयार रहेको बताए।
‘हामी सरकारमै जानुपर्छ र राष्ट्र राम्रो काम गर्नुपर्छ भन्ने छैन। हामी देश बनाउने संकल्पका साथ आएका हौँ,’ उनले भने।
राईले सरकारले विकास र सुशासनको मूल्याङ्कन गर्ने आधारबारे पनि प्रश्न उठाए। देशमा कालोबजारीलगायतका समस्या रहेको उल्लेख गर्दै उनले सरकारको विकासको मापन सामाजिक सञ्जालमा आउने प्रतिक्रियाबाट गर्ने कि वास्तविक कामको परिणामबाट गर्ने भन्ने स्पष्ट हुनुपर्ने बताए।
‘तपाईँहरूको विकासको मापन गर्ने विधि के हो? सामाजिक सञ्जालको अल्गोरिदम हो कि परिणाम र काम हो ?’ उनले प्रश्न गरे।

प्रतिक्रिया