प्रतिनिधिसभा सदस्य आरेन राईले जेनजी आन्दोलनमा सहभागी भएर हिंसा, आगजनी तथा तोडफोडमा संलग्न भएका व्यक्तिहरू सांसद र मन्त्री बन्ने पनि त्यही आन्दोलनमा सहभागी युवाहरू जेलमा बस्नुपर्ने अवस्था आएको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले जेनजी आन्दोलन परिवर्तनका लागि भएको आन्दोलन हो कि आपराधिक घटना हो भन्ने विषयमा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताए।

‘त्यही जेनजी आन्दोलनमा सहभागी, जलाऊ–जलाऊ, ठोक भन्नेहरू सांसद, मन्त्री हुने अनि त्यही जेनजी आन्दोलनमा सहभागी हुनेहरू जेल बस्नुपर्नेरु यो के समस्या हो?’ उनले प्रश्न गरे।

जेनजीका माग र मुद्दा पूरा गर्ने प्रतिबद्धतासहित सरकार गठन भएको उल्लेख गर्दै उनले आन्दोलनका क्रममा पक्राउ परेका युवाको अवस्था, मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन तथा आन्दोलनका क्रममा भएका क्षतिबारे सरकार गम्भीर हुनुपर्ने बताए।

‘यो जेनजी आन्दोलन परिवर्तनको लागि एउटा आन्दोलन हो कि कुनै आपराधिक घटना हो? यस सम्बन्धी सरकार गम्भीर भएर लाग्नुपर्छ। नत्र आफैँले खनेको खाल्डोमा आफैँ डुब्नु हुँदैन,’ उनले भने।

आन्दोलनका क्रममा जेलमा रहेका युवाको विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्ने भन्दै उनले आन्दोलनका क्रममा क्षति भएका सरकारी संरचनालगायतका विषयमा पनि सरकारले आफ्नो नीति सार्वजनिक गर्नुपर्ने बताए।

राईले नयाँ ढंगले अघि बढ्दै जेनजी आन्दोलनका माग र मुद्दा सम्बोधन गर्नुपर्ने बताए। ‘हामीले लामो समय नेपालको राजनीतिमा झुट बोल्यौँ। अब झुट बोल्ने हामीलाई छुट छैन, किनकि हामी नयाँ गर्छौँ भनेर आएका हौँ,’ उनले भने।