नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रज नेता एवं पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन्।
भण्डारीले बस्नेतको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताउँदै श्रद्धाञ्जली अर्पण गरेकी हुन्। उनले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको लोकतान्त्रिक संघर्षमा बस्नेतले आफ्नो जीवनको महत्वपूर्ण समय समर्पित गरेको उल्लेख गरिन्।
राजनीतिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र सामाजिक परिवर्तनका लागि संघर्ष गर्ने क्रममा बस्नेतले १७ वर्ष लामो जेलजीवनसहित अनेकौँ दुःख, कष्ट र कठिनाइ भोगेको भण्डारीले स्मरण गरेकी छन्।
कठोर परिस्थितिका बाबजुद पनि बस्नेत आफ्नो राजनीतिक निष्ठा र आदर्शप्रति सदैव दृढ रहेको उल्लेख गर्दै भण्डारीले उनको सरल जीवन, निष्ठा, त्याग र निरन्तर राजनीतिक सक्रियतामार्फत नेपाली वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान सधैँ स्मरणीय रहने बताएकी छन्।
भण्डारीले दिवंगत नेता बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्।

प्रतिक्रिया