जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छिन्।

जापानको आइची अन्तर्राष्ट्रिय एरिनामा आज भएको महिला ७० केजीमुनि तौल समूहमा पुनम भारतीय खेलाडी ताखेलाम्बाम इनुन्गान्वीसँग इप्पोनका आधारमा पराजित भइन्।

यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको सात विधामध्ये पाँच विधामा पराजित भएको छ। हिजो भएको खेलमा नेपालका चार खेलाडी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका थिए।

पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देवकीमाया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक रहेका छन्। महिला ५२ केजी तौल समूहमा देवकीमाया पहिलो खेलमा नै भियतनामकी खेलाडी थि नगान हासँग पराजित भएकी थिइन्। महिला ४८ केजी निशा हङकङकी वङ का लीसँग पराजित भइन्।

पुरुष ६६ केजी तौल समूहमा विशेष हङकङका वङ का कीसँग पराजित भए। पुरुष ६० केजीमा विकास उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग पराजित भए।

आजै नेपालको सुजन गुरुङले ९० केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै, मिक्स टिमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ। रासस