जापानको निसिनमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो सेमिफाइनलमा बंगलादेशलाई ६ विकेटले हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ।
बंगलादेशले दिएको ११२ रनको लक्ष्य पाकिस्तानले ११.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानले ९ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो।
पाकिस्तानका लागि अब्दुल समदले १५ बलमा ५ चौका र १ छक्कासहित अविजित ३० रन बनाए। हसन नवाजले २२ बलमा २ चौका र २ छक्कासहित अविजित २७ रन जोडे। साइम अयुबले १२ बलमा २१ तथा माज सदाकतले ७ बलमा १५ रन बनाए। बंगलादेशका रिषद हुसैनले एक विकेट लिए।
त्यसअघि वर्षाका कारण १३ ओभरमा घटाइएको खेलमा टस जितेर बंगलादेशले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १११ रन बनाएको थियो।
बंगलादेशका लागि तोहिद हृदोयले सर्वाधिक ४२ रन बनाए। उनले २५ बलमा २ चौका र ४ छक्का प्रहार गरे। साइफ हसनले १७ बलमा १९, मोसादेक हुसेनले १६ बलमा ११ तथा महेदी हसनले ४ बलमा अविजित ८ रन जोडे।
पाकिस्तानका सफ्यान मोकिमले ३ विकेट लिए। अराफात मिन्हासले २ तथा साइम अयुबले १ विकेट लिए।
पाकिस्तानले अब स्वर्ण पदकका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। आजै, दोस्रो सेमिफाइनलमा भारत र श्रीलंका बीच प्रतिस्पर्धा हुदैँछ।

प्रतिक्रिया