दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा महिला छात्रावास निर्माणको काम अघि बढेको छ।

विश्वविद्यालयका नवनियुक्त कुलसचिव प्रा डा नवराज कट्टेलले नयाँ पदाधिकारी आएलगत्तै शिलान्यास गरी छात्राबास निर्माण अघि बढाइएको जानकारी दिए।

उका अनुसार पुरुष छात्रावास निर्माणका लागि पनि आवश्यक योजना र रूपरेखा तयार पारिएको छ। नयसअघि छात्रावास नहुँदा विद्यार्थीलाई समस्या हुँदै आएको थियो। विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर छात्रावास निर्माणलाई प्राथमिकतामा राखिएको उनले बताए।

विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पताललाई २०० शय्याको बनाउने तयारी भइरहेको कुलसचिव कट्टेलले जानकारी दिए।

यसअघि लुम्बिनी प्रदेश सरकारले २०० शय्याको अस्पताल निर्माणका लागि रु तीन करोड बजेट विनियोजन गरे पनि प्रक्रिया अघि बढ्न सकेको थिएन। अहिले अस्पताललाई २०० शय्याको बनाउने गरी प्रशासनिक तथा राजनीतिक तहमा पहल भइरहेको उनले बताए।

आयुर्वेद अध्ययन संस्थानको जनशक्ति, भौतिक संरचना र आर्थिक अवस्थासहितको विस्तृत प्रतिवेदन प्राप्त भएकाले त्यसको अध्ययन गरी प्राथमिकताका आधारमा काम अघि बढाइने उनले बताए।

विश्वविद्यालयले आयुर्वेद कलेज तथा ओपिडीका लागि आवश्यक उपकरण र आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरेको छ। रासस