सिंगापुरले सरकारी कर्मचारीका लागि ‘फर्स्टडेट’ नामको डेटिङ सेवा सुरु गरेको छ। घट्दो विवाह र निकै कम प्रजनन दरको समस्या सामना गरिरहेको सिंगापुरले सम्बन्ध निर्माणमा सहयोग गर्ने उद्देश्यले यो सेवा सुरु गरेको हो।
मंगलबार सार्वजनिक गरिएको यो सेवाले २१ देखि ३५ वर्ष उमेरका सरकारी कर्मचारीलाई लक्षित गरेको छ। सरकारी प्रविधि निकाय गोभटेकले सञ्चालनमा ल्याएको यो सेवा परम्परागत डेटिङ एपभन्दा फरक तरिकाले प्रयोगकर्तालाई सम्भावित जोडीसँग जोड्ने उद्देश्यले बनाइएको हो।
प्रयोगकर्ताले साइनपासमार्फत लगइन गरेर आफ्नो रुचि, बानी, मूल्य-मान्यता, धार्मिक प्राथमिकता र सम्बन्धमा स्वीकार गर्न नसक्ने विषयलगायतका विवरण भर्नुपर्छ। त्यसपछि प्रणालीले उपयुक्त देखिएको व्यक्तिसँग भेटको अवसर दिनेछ।
फर्स्टडेटले डेटिङ एपमा पटक–पटक प्रोफाइल हेर्दै स्वाइप गर्दा हुने ‘स्वाइप फटिग’ कम गर्ने र अर्थपूर्ण सम्बन्ध बनाउन सहयोग गर्ने बताएको छ। यसमा एकैपटक धेरै विकल्प देखाउनुको सट्टा सीमित र मिल्दो सम्भावित जोडीसँग जोड्ने व्यवस्था गरिएको छ।
सेवाले प्रयोगकर्ताको गोपनीयतालाई पनि प्राथमिकता दिएको छ। प्रोफाइल र सम्पर्क विवरण प्रयोगकर्ताको सहमतिबिना अर्को व्यक्तिलाई नदिने व्यवस्था गरिएको छ।
डेटिङ सेवाको सुरुवात सिंगापुरमा विवाह र जन्मदर दुवै घटिरहेका बेला भएको हो। आधिकारिक तथ्यांकअनुसार सन् २०२५ मा २४ हजार ६८८ विवाह दर्ता भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा ६.२ प्रतिशत कम हो। विवाहको संख्या लगातार तेस्रो वर्ष घटेको थियो।
त्यस्तै, सन् २०२५ मा सिंगापुरको प्रजनन दर ०.८७ मा झरेको थियो। यो अघिल्लो वर्षको ०.९७ भन्दा पनि कम हो।
सिंगापुर अहिले ‘सुपर–एज्ड’ समाजसमेत बनेको छ। सन् २०२६ मा त्यहाँका नागरिकमध्ये २१.४ प्रतिशत ६५ वर्ष वा सोभन्दा माथिका उमेर समूहमा पुगेका छन्।
सरकारले विवाह र परिवार बढाउन अन्य उपायसमेत अघि सारेको छ। प्रधानमन्त्री लरेन्स वङले परिवार विस्तारलाई प्रोत्साहन गर्ने आर्थिक प्याकेज घोषणा गरेका छन्।
यस्तै, जापानले पनि घट्दो जन्मदरको समस्या सामना गर्न प्रविधिमा आधारित जोडी मिलाउने सेवा प्रयोग गर्दै आएको छ। सिंगापुरको फर्स्टडेट भने अहिले सरकारी कर्मचारीमा सीमित परीक्षणका रूपमा सञ्चालन भइरहेको छ। एजेन्सी

प्रतिक्रिया