नुवाकोटको विनाशकारी बाढीमा ज्याला मजदुरी गर्ने छोरा-बुहारी गुमाएर सहाराविहीन बनेका बाजुराका एक वृद्धका तीन अबोध नातिनातिनीको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ।

१८ वर्षको उमेरसम्म उनीहरूको लालनपालन, शिक्षा र संरक्षणको सम्पूर्ण दायित्व राज्यले वहन गर्ने भएको हो।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’ अन्तर्गत ती तीनै बालबालिकालाई समेटिएको छ। राष्ट्रिय बाल अधिकार परिषद्मा यससम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार आमाबुबा दुवै गुमाएका तीनै जना नाबालकको १८ वर्ष नपुगेसम्म शिक्षा, पालनपोषण, संरक्षण तथा आवश्यक स्वास्थ्य स्याहारको प्रबन्ध सरकारले निःशुल्क मिलाउनेछ।

अभिभावकविहीन बालबालिकालाई सुरक्षित पारिवारिक तथा सामाजिक वातावरणमा हुर्काउन मन्त्रालयले यो दीर्घकालीन योजना अघि बढाएको हो।

परिवारको गुजारा चलाउन बाजुराबाट नुवाकोट पुगेर मजदुरी गरिरहेका छोरा-बुहारी बाढीमा बेपत्ता भएपछि वृद्धको बुढेसकालको मुख्य सहारा गुमेको थियो।

गाउँमा बाटो हेरिरहेका तीन साना नातिनातिनीलाई कसरी हुर्काउने र पढाउने भन्ने चिन्ताले उनलाई पीडामा पारेको थियो।

राज्यले नातिनातिनीको भविष्यको जिम्मा लिएपछि ती वृद्धले राहतको सास फेरे। सम्झौतापछि आँखाभरि आँसु पार्दै उनले भने, ‘छोरा-बुहारी गुमाएको पीडा कहिल्यै मेटिँदैन। तर अब मेरा नातिनातिनीको भविष्य सुरक्षित हुने भयो। उनीहरू पढ्न पाउनेछन्, राम्रोसँग हुर्किनेछन् सरकारलाई धेरै धन्यवाद।’