नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको संस्थापनइतर समूहले गर्न लागेको १५औं महाधिवेशनबाट आफू नै सभापति बन्ने प्रबल सम्भावना रहेको बताएका छन्।
तर, आफूलाई प्रधानमन्त्री वा कुनै ठूलो राजकीय पदको लोभ नरहेको र केवल ऐतिहासिक पार्टीलाई जोगाउन मात्रै नेतृत्व लिन चाहेको उनले सुनाए।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै डा. कोइरालाले पार्टीको आन्तरिक समीकरण र आफ्नो राजनीतिक भविष्यबारे यस्तो धारणा राखेका हुन्।
१५औं महाधिवेशन तयारी समितिको संयोजकका रूपमा चुनदेवीबाट समानान्तर गतिविधि अघि बढाइरहेका कोइरालालाई सम्पादक अधिकारीले सोधेका थिए, ‘तपाईंको नेतृत्वमा महाधिवेशन हुँदाखेरिको सभापति त तपाईं नै बन्नुहुन्छ ?’
जवाफमा डा. कोइरालाले संक्षिप्त भने, ‘सम्भावना छ।’
उनले कार्यकर्ताको विश्वास र साथीहरूको आग्रहमा नै आफू संयोजक बनेको र सोही विश्वासका आधारमा नेतृत्व लिन तयार रहेको बताए।
‘प्रधानमन्त्री चाहिएको छैन, पार्टीको स्वार्थ नै मेरो स्वार्थ’
आफू सत्ता वा पदको पछाडि नकुदेको दाबी गर्दै कोइरालाले भने, ‘राजनीतिमा व्यक्तिगत स्वार्थ पनि हुन्छ, तर मलाई आफ्नो स्वार्थका लागि प्रधानमन्त्री अथवा कुनै ठूलो पद चाहिँदैन। मेरो स्वार्थ भनेको पार्टीको स्वार्थ हो, यो पार्टीलाई कसरी जोगाउने भन्ने मात्रै हो।’
आफू सभापति बनेको खण्डमा पार्टीलाई सही दिशामा हिँडाउन छुट्टै नीतिगत खाका रहेको उनले बताए।
पार्टी सभापति भएपछि के गर्नुहुन्छ भन्ने जिज्ञासामा कोइरालाले कांग्रेसको वर्तमान विधान आमूल परिवर्तन गर्ने योजना सुनाए। हालको विधानले पार्टीलाई अराजक बनाएको उनको टिप्पणी छ।
‘वर्तमान विधान एकदम बेकार छ, यसलाई कोटै गरिदिए हुन्छ,’ उनले भने, ‘सबै पदाधिकारी चुनावबाट आउँदा सबैले आफूलाई सभापति बराबर ठान्न थाले। सभापतिको लगाम नै भएन। म सभापति भएँ भने विधान परिवर्तन गर्छु। सभापतिको मात्रै चुनाव हुनुपर्छ र उसले ७५ प्रतिशत मान्छे मनोनयन गर्न पाउनुपर्छ, २५ प्रतिशत मात्रै चुनावबाट आउनुपर्छ। एक हदसम्म सभापति डिक्टेटोरियल नभई पार्टी चल्दैन।’
‘देउवाको टीका लगाएर होइन, आफ्नै कर्मले सभापति बन्छु’
शेरबहादुर देउवाले आशीर्वाद दिएर आफूलाई नेतृत्वमा पुर्याउन खोजेको भन्ने चर्चालाई कोइरालाले खारेज गरे। टीका लगाएर आएको नेतृत्व टिक्न नसक्ने उनको भनाइ छ।
‘देउवाजीले मलाई दिने भन्ने कुरा म मान्दै मान्दिनँ। बीपी कोइरालाले के आफ्नो छोरालाई नेतृत्व दिनुभयो ? दिएनन् नि !’ कोइरालाले भने, ‘त्यसैले कसैले दिएर नेतृत्व पाइँदैन। आफू सक्षम भएर, लोकप्रिय भएर भोटबाट आउने मान्छे नै नेतृत्वमा पुग्छ। मैले आफ्नो कर्म र क्षमताले आफूलाई प्रमाणित गर्नुपर्छ, अनि मात्रै सभापति भएको मान हुन्छ।’
यदि पार्टीमा आफ्नो औचित्य र आवश्यकता सकिएको महसुस भएमा आफू राजनीतिबाट सन्न्यास लिएर विश्राम लिनसमेत तयार रहेको उनले सुनाए।

प्रतिक्रिया