इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ।

भोटेकोशीको विनाशकारी बाढीपहिरो र आसन्न चाडपर्वलाई मध्यनजर गर्दै निगमले मूल्य यथावत् राख्दा पाक्षिक ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी घाटा बेहोर्ने भएको छ।

निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले २०८३ असोज १५ को बिहान १२:०१ बजेदेखि लागू हुने गरी साविककै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको हो।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य अस्थिर बनेपछि आईओसीले असोज १४ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा र मट्टीतेलमा १५ रुपैयाँ ९६ पैसा बढेर आएको थियो।

यस्तै, हवाई इन्धनमा प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा मूल्य बढेको थियो।

तर, भोटेकोशीमा आएको बाढीपहिरोले सिर्जना गरेको विषम परिस्थिति, नजिकिँदै गरेका चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरिएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य यहाँ समायोजन नगर्दा निगमलाई १५ दिनमा मात्रै करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने देखिएको छ।

यसैबीच, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन भने पोखरा र भैरहवा विमानस्थलका लागि नाफा-नोक्सान नहुने विन्दुमा बिक्री मूल्य तोकिएको छ।