नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको आयुर्वेद शिक्षण अस्पतालको (बहिरङ विभाग) ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ।

कोरोना महामारीका बेला उक्त विभाग बन्द भएको थियो। ओपिडी बन्द हुँदा केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेदमा स्नातक (बिएएमएस) अध्ययनरत विद्यार्थी प्रयोगात्मक अभ्यासका लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यता थियो। अब त्यो अवस्थाको अन्त्य भएको विद्यापीठका प्राचार्य मङ्गलाकान्त झाले बताए।

उनका अनुसार विद्यार्थी प्रयोगात्मक अभ्यासका लागि प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती आँखा अस्पताल रक्षाचौरसहित अन्य बाहिरी जिल्लामा जानुपर्ने अवस्था थियो। शिक्षण अस्पतालमै प्रयोगात्मक अभ्यास हुने उनले बताए। ‘ओपिडी बन्द हुँदा हामीले विद्यार्थीलाई इन्टर्नसीपका लागि बाहिर पठाउनु पर्थ्यो’, उनले भने, ‘अब त्यो समस्या हट्ने भयो।’

ओपिडी सेवा सञ्चालनमा आएपछि विश्वविद्यालयलाई थप उपचारमा नेपाल संस्कृत विश्वविद्यालयले सहयोग गरेको छ।

शिक्षाध्यक्ष प्रा डा जगन्नाथ रेग्मीले विश्वसमुदाय संस्कृत भाषा, आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सातर्फ आकर्षित भइरहेको बताए।

विद्यापीठमा २०० विद्यार्थी अध्ययनरत छन्। हालसम्म २३३ जना विद्यार्थी उत्तीर्ण भइसकेका छन्। जसमध्ये २१५ जनाले चिकित्सकको सेवा गरिरहेका छन्।

शिक्षण अस्पतालमा चिकित्सा, शल्य तन्त्र, शालाक्य तन्त्र, स्त्री तथा प्रसूति पञ्चकर्म सेवा, बालरोग सेवा, प्याथोलोजी तथा मानसरोग सेवा सञ्चालनमा छन्। केही समयपछि बिरामी भर्ना सेवा तथा स्वर्णबिन्दू प्रासन सेवा पनि सञ्चालन गर्नेगरी योजना बनाएको प्राचार्य झाले बताए।