नेपालका चार जुडो खेलाडीले २०औं एसियाली खेलकुदमा खराब प्रदर्शन गर्दै पहिलो चरणमै हार सामना गरेका छन्।
नागोयामा बुधबार भएको खेलमा नेपालका विशेष र विकाश विक तथा देवकीमाया र निशा श्रेष्ठ पहिलो चरणमा बाहिरिए।
आइची इन्टरनेसनल एरिनामा भएको खेलमा चारै खेलाडीले खराब प्रदर्शन गरे। चारमध्ये निशा र विकाश निर्धारित समयसम्म टिक्नै सकेनन्।
पुरुष ६० केजीमुनि तौल समूहमा विकास उज्बेकिस्तानका समरिद्दिन कुचकारोभसँग इप्पोनको आधारमा पराजित भए। यी दुवैले पहिलो चरणमा बाई पाएका थिए। तर विकासले त्यसलाई सदुपयोग गर्न सकेनन्।
समरिद्दिन एसियन जुनियर विश्व च्याम्पियनसिपको स्वर्ण विजेता हुन्। कुल चार मिनेटको खेलमा विकास म्याटमा एक मिनेटमै नतिजा सुम्पिन बाध्य भए।
पहिलो सेकेन्डदेखि नै समरिद्दिन आक्रामक देखिए। अन्ततः उनले विकासमाथि ४८ सेकेन्डभित्र नै बाजी मारे।
महिला ४८ केजी तौल समूहमा पनि निशाले खराब प्रदर्शन गरिन्। उनी हङकङकी योङ का लीसँग इप्पोनको आधार पराजित हुन पुगिन्। २ मिनेट ३२ सेकेन्डमा नै निशाले नतिजा सुम्पिएकी थिइन्।
महिला ५२ केजीमा देवकी मायाले पनि पहिलो चरणमा भियतनामकी लाम थी एनगान हासँग युकको आधारमा पराजित हुन पुगिन्।
अनुभवी खेलाडी देवकी मायाले अन्तिम समयसम्म चुनौती दिइन्। तर, खेल सकिन २० सेकेन्ड बाँकी छँदा युको सामना गर्न पुगेपछि देवकी माया पराजित भइन्।
त्यसअघि दुवैले सिदो (पहेँलो कार्ड) सामना गरेका थिए। उनी निशाकी दिदी हुन्। अर्का पराजित खेलाडी विकास र विशेष पनि दाजुभाइ हुन्।
विशेष भने पुरुष ६६ केजी तौल समूहमा हङकङका वाङ का कीसँग वाजारिका आधारमा पराजित हुन पुगे। तर, विशेषले चार मिनेटसम्म चुनौती दिए पनि पराजित भए।
अब नेपालले दुई विधामा पुनम श्रेष्ठले महिला ७० केजीमुनि तौल समूह, सुजन गुरुङले पुरुष ९० केजीमुनि तौल समूह र मिक्स टिममा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया