एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स इन नेपाल (अपेन) ले रसुवाका बाढीपीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको छ।
अपेनले देशभरका पूर्वप्राथमिक विद्यालयहरूबाट सङ्कलन गरेको उक्त राहत रकम सोमबार शिक्षामन्त्री सस्मित पोखरेललाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। हस्तान्तरण गरिएको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ।
गत भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सघाउ पुर्याउने उद्देश्यले संस्थाले उक्त रकम सङ्कलन गरेको जनाएको छ।
प्राकृतिक विपत्तिका बेला नागरिकको पीडामा साथ दिनु संस्थाको सामाजिक उत्तरदायित्व र मानवीय ऐक्यबद्धता भएको अपेनले उल्लेख गरेको छ।
यस राहत अभियानमा स्वतःस्फूर्त रूपमा सहयोग पुर्याउने देशभरका सम्पूर्ण पूर्वप्राथमिक विद्यालय, शिक्षक-शिक्षिका तथा सहयोगीहरूप्रति अपेनले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया