मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नी पत्नी सिती हस्माह मोहम्मद अलीको सोमबार निधन होला भन्ने आफूले नसोचेको बताएका छन्। उनले निधन हुनुअघिल्लो रातसम्म पत्नीको स्वास्थ्य राम्रो रहेको बताए।

१०१ वर्षीय महाथिरले पूर्वराजा तथा पहाङका शासक सुल्तान अब्दुल्लाह रियातुद्दिन अल-मुस्तफा बिल्लाह शाह अन्तिम श्रद्धाञ्जली दिन पुगेका बेला भने, ‘आज उहाँको निधन होला भन्ने मैले सोचेको थिइनँ। अघिल्लो रात उहाँ निकै राम्रो अवस्थामा हुनुहुन्थ्यो।’

१०० वर्षीया हस्माहको स्थानीय समय अनुसार सोमबार बिहान करिब ९ः२० बजे नेसनल हार्ट इन्स्टिच्युटमा निधन भएको थियो। उनलाई राजकीय सम्मानका साथ पत्राजयास्थित राष्ट्रिय समाधिस्थलमा अन्त्येष्टि गरिएको छ। अन्तिम संस्कारका क्रममा ह्विलचेयरमा बसेका महाथिर रोइरहेको भिडियोसमेत सार्वजनिक भएको छ।

हस्माहको निधनपछि मलेसियामा श्रद्धाञ्जली व्यक्त गरिएको छ। उनका छोरा मोखजानी महाथिरले निधन हुनुअघिल्लो रातसम्म आमाको मनोबल राम्रो रहेको तर सोमबार बिहान अचानक स्वास्थ्य बिग्रिएको बताए।

अर्का छोरा मुखरिज महाथिरका अनुसार सोमबार बिहान करिब ८ बजे हस्माहको मुटुमा समस्या देखिएको थियो। त्यसपछि चिकित्सकहरूले सीपीआर गरेका थिए। उनले आफ्ना बुबा हस्माहको अन्तिम साससम्मै साथमा रहेको बताए।

आमाबारे मुखरिजले भने, ‘उहाँले सधैं जनता र राष्ट्रलाई प्राथमिकता दिनुभयो। अन्तिम क्षणसम्म पनि उहाँ उनीहरूको भविष्यबारे सोचिरहनुभएको थियो।’

महाथिरकी छोरी मारिना महाथिरले आफ्ना बुबाको स्वास्थ्य राम्रो भए पनि जीवनभरकी संगिनी गुमाउँदा शोकमा रहेको बताइन्। उनले भनिन्, ‘उहाँ पक्कै पनि दुःखी हुनुहुन्छ। उहाँहरू ७० वर्षसम्म सँगै रहनुभयो। उहाँले एक्लोपन महसुस गरिरहनुभएको छ।’

महाथिर र हस्माहको विवाह सन् १९५६ मा भएको थियो। उनीहरूले गत अगस्टमा विवाहको ७० वर्ष पूरा गरेका थिए। दुवैको भेट सिंगापुरस्थित तत्कालीन किङ एडवर्ड सातौं कलेज अफ मेडिसिनमा चिकित्साशास्त्र पढ्दा भएको थियो।

पढाइ पूरा गरेपछि सेलान्गोरको क्लाङमा जन्मिएकी हस्माह आफ्ना पति महाथिरको गृह राज्य केदाहमा सरकारी सेवामा मेडिकल अफिसर नियुक्त हुने पहिलो महिला बनेकी थिइन्।

पूर्वप्रधानमन्त्रीकी पत्नीका रूपमा उनले मातृ स्वास्थ्य, परिवार नियोजन, साक्षरता, लागुपदार्थ दुर्व्यसन रोकथाम र मानसिक स्वास्थ्यका क्षेत्रमा पनि काम गरेकी थिइन्। एजेन्सी