पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले आफूलाई वरिष्ठ नेताको जिम्मेवारी दिएकोमा खुशी व्यक्त गरेकी छन्। रूपन्देहीको बुटवलमा मंगलबार आयोजित स्वागत कार्यक्रममा बोल्दै भण्डारीले आफूले पहिलोपटक पार्टी उपाध्यक्षको जिम्मेवारी बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाटै प्राप्त गरेको स्मरण गरिन्।

भण्डारीले त्यतिबेला यस क्षेत्रमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदानलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने विषयमा छलफल भएको र अहिले ती पूर्वाधार निर्माण सम्पन्न भएको बताइन्।

‘मलाई पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारी यही अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट प्रदान गरिएको थियो,’ उनले भनिन्, ‘त्यही समयमा हामीले यो ठाउँलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदान लगायतका पूर्वाधार बनाउनुपर्छ भन्ने कुरा गरेका थियौँ। आज ती सबै पूरा भएका छन्। यो हामी सबैका लागि खुशीको कुरा हो।’

भण्डारीले उद्योग व्यवसायमा संलग्न व्यक्तिहरूसँग छलफल गरी औद्योगिक क्षेत्रमा रहेका समस्या पहिचान र समाधान गर्दै अघि बढ्नुपर्ने धारणा राखिन्।

‘आज यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको छ, राम्रा बाटाहरू पनि बनेका छन्,’ उनले भनिन्, ‘अब उद्योग व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने विषयमा उद्योग व्यवसायमा लागेका मित्रहरूसँग सरसल्लाह गरेर औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै अगाडि बढ्नुपर्छ।’