पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेको भन्ने दाबी सरकारले अस्वीकार गरेको छ। शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई पक्राउ नगरिएको भन्दै सुरक्षामा खतरा देखिएपछि निवासबाट ‘रेस्क्यू’ गरेर सुरक्षित स्थानमा लगिएको बताए।
मन्त्रिपरिषद्को बैठकपछि मंगलबार पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले जबराको सुरक्षामा प्रश्न उठेपछि प्रहरीले उनलाई निवासबाट सुरक्षित रूपमा बाहिर ल्याएको बताए।
‘पक्राउ गरिएको होइन। सुरक्षामा प्रश्न आइसकेपछि रेस्क्यू गरेर लगिएको हो। उहाँले थप सुरक्षा माग गरेर निवेदन पनि पठाउनुभएको छ। यसले पनि थ्रेट आएको पुष्टि गर्छ,’ पोखरेलले भने।
शनिबार राति प्रहरीले जबरालाई उनको निवासबाट नियन्त्रणमा लिएर पछि सुरक्षाको व्यवस्था गर्ने भन्दै फिर्ता पठाएको विवरण सार्वजनिक भएको थियो। उनलाई ‘जेनजी थ्रेट’ का कारण पक्राउ गरिएको दाबीसमेत सार्वजनिक भएपछि सरकारले त्यसको खण्डन गरेको हो।
प्रवक्ता पोखरेलले जबरालाई जेनजीबाट धम्की आएको भन्ने विषय सरकारले नभनेको स्पष्ट पारे।
‘जेनजीबाट भनिएको छैन। मिडियामा आएको हो। अपरिचित समूहबाट टेक्स्टमार्फत नै थ्रेट आएको हो। प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने।

प्रतिक्रिया