पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल क्षति भएपछि सहिद लखन गाउँपालिका–३ मनकामना र आसपासका डेढ सय घरधुरीका बासिन्दालाई आवतजावतमा समस्यामा परेको छ।
सहिदलखन गाउँपालिका–३ सिलिङटार र मनकामना केवलकारको तल्लो स्टेशन(चेरेस) जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि तीनवटा टोलका स्थानीय र तीर्थयात्री मर्कामा परेका वडाध्यक्ष दीपक पाण्डेले जानकारी दिए।
पुल क्षतिग्रस्त भएपछि सिलिङटार, केवरपानी र मनकामना हटियाका स्थानीयवासीलाई राजमार्ग जान समस्या भएको छ।
त्यहाँबाट कुरिनटार र मुग्लिनका विद्यालय, कलेज जाने ५० जनाभन्दा धेरै विद्यार्थीहरुलाई पनि समस्या भएको छ।
त्यहाँका किसानले उत्पादन गरेको तरकारी बेच्न बजार जान र बजारबाट अत्यावश्यक सामान किन्न जान पनि समस्या भएको छ।
उनले भने, ‘यहाँ पुल नभएपछि अर्को पुल तर्न डेढदेखि दुई घण्टा घुमेर ठेउवाटार पुग्नुपर्छ।’
यसअघि केवलकार चढ्न नसक्ने वा नचाहने मनकामनाका तीर्थयात्री सो पुल तरेर सिलिङटार पुग्ने र त्यहाँबाट बस, जीप चढेर मन्दिर पुग्ने गर्थे।
‘पुल नभएपछि भक्तजनलाई पनि समस्या भएको छ’, वडाध्यक्ष पाण्डेले भने, ‘यसपटक त यस्तरी बिग्रियो कि, पुल जीप राख्ने ठाउँसमेत छैन’, यसअघि दुई बर्षअघि पनि सो पुल बाढीले क्षति गरेको थियो।

प्रतिक्रिया