कान्ति लोकपथमा खसेको पहिरो पन्छाएर रोकिएका सवारीसाधनहरूलाई गन्तव्यतर्फ पठाइएको छ।
यद्यपि, वर्षाका कारण सडकका २७ स्थानमा पहिरोको उच्च जोखिम रहेकाले सम्भावित दुर्घटना रोक्न रातको समयमा भने सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
लगातारको वर्षाका कारण लोकपथको बिर्खेधारा, पाङ्दुर र टाकुर्चेमा पहिरो खस्दा शुक्रबार दिनभर यातायात पूर्ण रूपमा ठप्प बनेको थियो।
शनिबार बिहानैदेखि पहिरो हटाउने काम तीव्र पारिएपछि दिउँसोदेखि रोकिएका सम्पूर्ण सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको कान्ति लोकपथ आयोजनाका सुपरभाइजर दीपक घिमिरेले जानकारी दिए।
मौसमविद्हरूले आइतबारसम्म नै भारी वर्षाको सम्भावना औंल्याएकाले जिल्ला प्रशासन कार्यालय ललितपुरले सुरक्षा सतर्कता अपनाउँदै रातको समयमा सवारी चलाउन निषेध गरेको हो।
प्रशासनले बिहीबारदेखि नै रात्रिकालीन यात्रामा रोक लगाउँदै आएको छ भने शुक्रबार दिउँसोसमेत गाडी चल्न दिएको थिएन।
रातको समयमा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै काठमाडौंबाट छुटेका सवारीसाधनलाई ललितपुरको टीकाभैरवमै रोकिएको छ। यस्तै, मकवानपुरतर्फबाट आउने सवारीसाधनलाई हेटौंडाको चौगडामै रोक्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरेले बताए।
आयोजनाका सुपरभाइजर घिमिरेका अनुसार कान्ति लोकपथका विभिन्न २७ स्थानलाई पहिरोको संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको छ। विशेष गरी भैंसेखोलादेखि बगुवासम्म पहिरोको जोखिम उच्च छ।
भैंसेखोला, बिर्खेधारा, नयाँगाउँ, कार्कीबास, टाकुर्चे, पाङ्दुर, तामाखानी, काल्चे र माल्टा दोबाटोलगायतका २७ स्थान उच्च जोखिममा रहेको घिमिरेले बताए।
जुनसुकै बेला सडक अवरुद्ध हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै पहिरो पन्छाउन ती क्षेत्रहरूमा स्काभेटरहरूलाई तयारी अवस्थामा राखिएको आयोजनाले जनाएको छ।

प्रतिक्रिया