विदेशमा रहेका लाखौं नेपाली नागरिकले आगामी निर्वाचनमा विदेशबाटै मतदान गर्न पाउने सम्भावना बढेको छ।
निर्वाचन आयोगले आउट अफ कन्ट्री भोटिङको व्यवस्था कार्यान्वयन गर्न आवश्यक तयारी र सरोकारवालासँगको छलफललाई तीव्रता दिएको छ।
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहितका पदाधिकारीले विदेशमा मतदान गराउने सम्भावित विकल्पहरूबारे जानकारहरूसँग सघन विमर्श थालेका छन्।
आयोगले विभिन्न मुलुकस्थित नेपाली दूतावास तथा कन्सुलेटमा मतदान केन्द्र स्थापना गर्ने, हुलाकमार्फत, प्रतिनिधिमार्फत वा विद्युतीय र मिश्रित विधिबाट मतदान गराउने विषयमा अध्ययन गरिरहेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विदेशमा रहेका नेपालीको यकीन सङ्ख्या, मतदाता नामावली सङ्कलनको प्रक्रिया र निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिकाबारे अहिले विचारविमर्श भइरहेको छ।
मतदान केन्द्रको व्यवस्थापन र मतदानपछि मतपत्रको सुरक्षालगायतका प्राविधिक एवं प्रशासनिक पक्ष पनि आयोगको प्राथमिकतामा छन्।
यस व्यवस्थालाई मूर्तरूप दिन परराष्ट्र मन्त्रालयको सहजीकरणमा आयोगले हालै विभिन्न देशका नेपाली राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग समेत छलफल गरेको छ।
विदेशबाटै मतदान गराउन आवश्यक पर्ने कानुनी र नीतिगत सुधारका विषयमा पनि आयोगले आन्तरिक गृहकार्य गरिरहेको छ।

प्रतिक्रिया