हालै रक्षाबन्धनसँग सम्बन्धित एउटा विज्ञापनमा आफ्नो पहिरनलाई लिएर विवादमा परेकी बलिउड अभिनेत्री कृति सेननले महिलाहरूमाथि भइरहेको छेड छाड, ब*लात्कार र यौन दुर्व्यवहारको घटनालाई लिएर पितृसत्तात्मक सोचमाथि प्रश्न उठाएकी छन्।
कृतिको अनुसार यो लडाई पुरुष र महिलाबिचको होइन, पितृसत्तात्मक सोचविरुद्धको लडाई हो। यसमा पितृसत्तालाई नै संस्कार मान्ने महिलाहरू पनि यसको हिस्सा भएको उनले उल्लेख गरेकी छन्।
कृतिले कुनै विशेष घटनाको उल्लेख नगरी सामाजिक सञ्जालमा लेखेकी छन्, “यो लडाइँ पुरुष र महिलाबिचको होइन। यो महिलाहरू र पितृसत्तात्मक सोचबीचको लडाइँ हो। महिलालाई आफूभन्दा कम ठान्ने पुरुषहरूविरुद्ध र पितृसत्तालाई नै संस्कार मानेर बसेका महिलाहरूविरुद्ध पनि यो लडाइँ हो।”
उनले अगाडि प्रश्न उठाउदै थपिन “आखिर कहिलेसम्म महिलाहरूलाई नै यौन हिं*साबाट कसरी बच्ने भनेर सिकाइरहनेरु पुरुषहरूलाई महिलामाथि छेड छाड, जबर्जस्ती नगर्न किन सिकाइँदैन ?”
“जब कुनै नाबालिगमाथि ब*लात्कार हुन्छ, त्यसो गर्ने व्यक्तिको सोच कस्तो थियो भनेर प्रश्न किन गरिँदैन? त्यसको सट्टा आज पनि मानिसहरू यही सोध्छन् कि युवतीले के लगाएकी थिइन्, उनी कहाँ थिइन्, कोसँग थिइन्, बाहिर किन गएकी थिइन् र उनको परिवारले उनलाई त्यसो गर्न किन अनुमति दिएको थियो?”
गलत गर्ने पुरुषहरुको गल्तीको बोझ महिलामाथि थोपर्न बन्द गर्नुहोस् भन्दै उनले थपिन, “महिलाहरूलाई हरेकपटक आफूलाई सुरक्षित राख्न अझ बढी सावधान हुनुपर्छ भनेर सम्झाउन बन्द गरौँ। आवश्यक कुरा पुरुषहरूलाई महिलासँग सम्मानपूर्वक व्यवहार गर्न र आफ्नो मर्यादामा बस्न सिकाउनु हो। केटाहरूलाई सहमति र सम्मानको अर्थ सिकाउनुहोस्। उनीहरूलाई आफ्नो व्यवहारको जिम्मेवारी लिन सिकाउनुहोस्। गलत व्यवहार गर्ने पुरुषहरूको गल्तीको बोझ महिलामाथि थोपर्न बन्द गर्नुहोस्।”
यद्यपि उनी बिहारको जमुईमा नाबालिकमाथि भएको दुर्व्यवहारबारे आक्रोश रहेकी बुझ्न सकिन्छ।

प्रतिक्रिया