प्रकृतिको मौनभाषा

प्रकृति निष्प्राण र मौनमात्र रहन्छ भन्ने मान्नु हुँदैन । प्रकृतिको भाषा शाब्दात्मक हुँदैन । प्रकृतिको भाषा त हिमनदीको विलयनमा, नदीहरुको प्रचण्डवेगमा, पहाडको पहिरोमा, वनजङ्गलको क्षयमा तथा उर्वराविहीन मरुभूमिको विस्तारमा प्रकट हुन्छ । कहिले प्रकृति मन्द‌हावाको रुपमा स्पर्श गर्छ, कहिले जलधाराका रूपमा जीवन प्रदान गर्छ त कहिले-काहीँ प्रलयकारी प्रवाह‌द्वारा मानवजातिको अहङ्कारलाई चूर्ण बनाउन अघि बढ्छ । प्रकृतिको यो मौन सन्देश नै मानवविवेकको परीक्षा हो ।

भर्खरै श्रावण- १०को भोटेकोशी-त्रिशूली आदि नदीहरुको विनाशकारी भयावह प्रवाह तथा प्रकृतिको क्रूर स्वभावले हिमाली क्षेत्रको संवेदनशीलतालाई पुनःस्मरण गराएको छ । संयुक्त राष्ट्र महासभाको ८१औं सम्मेलन (२४- सेप्टेम्बर, २०२६ सन्) मा नेपालका प्रधानमन्त्री बालेन्द्र साहद्वारा हिमाली भेगमा बढ्‌दै गएको पर्यावरणीय सङ्कट, जलवायु परिवर्तनको प्रभाव, जलवायु-न्यायको आवश्यकतालाई वैश्विक विमर्शको प्रधान विषय बन्नु पर्ने विचारलाई अघि सारिएको छ । हिमालको समस्या केवल नेपालको मात्र समस्या नभएर, समग्र मानवसभ्यताकै साझा उत्तरदायित्वको विषय हो भन्ने चेतना विश्वका सबै राष्ट्रले आत्मसात् गर्नु पर्ने स्पष्ट अडान प्रधानमन्त्रीको मन्तव्यमा रहेको थियो ।

हिमालय : जीवनको मूल आधार

हिमालय केवल पहाडका टाकुरा वा चुचुरामात्र होइन । हिमाल असङ्ख्य जीवनधाराको मूल आधार हो । हिमालय नदीहरू‌को जनक हो, नदीहरू जमिन (खेतबारी) मा जीवनवाही उर्वराशक्तिको जननी हुन्, खेतवारी भनेका धान-गहुँ आदि अन्न उत्पादनका आधार हुन् र ती अन्नादि सम्पूर्ण प्राणी तथा मानवजातिको जीवनको आधार हुन् । अतः हिमालबाट अविच्छिन्न प्रवाहित जल केवल खोला-नालाका पानीमात्र नभएर मानवीय जीवन, संस्कृति, कृषि, अर्थव्यवस्था र समग्र सभ्यताको प्रवाह हो । त्यसैले हिमालयको संरक्षण भनेको वैश्विक जीवनको संरक्षण हो । हिमालयीय पर्यावरणीय सन्तुलन कायम गर्नु विश्वकै सह‌कार्य आवश्यक हुन्छ र त्यो सहकार्य नै समग्र मानवजातिको सुरक्षाको लागि सेतु बन्न सक्दछ ।

वैदिक दृष्टिमा पृथिवी-माता

पौरस्त्य दर्शन तथा वैदिक चिन्तनमा पृथिवी केवल उपभोग्य वस्तु होइन । पृथिवीको अतिशय दोहन होइन संरक्षण गर्नु पर्छ भन्ने सन्देश वैदिक वाङ्‌मयमा यत्रतत्र उपदिष्ट छ । अथर्ववेदले उद्घोष गरेको छ- ‘माता भूमिः पुत्रोऽहं पृथिव्या:’ । यो मन्त्रले मानवको पृथिवीसँगको सम्बन्धलाई अत्यन्त गम्भीररुपमा प्रतिपादन गरेको छ । आमाका संसाधनहरू‌को असीमित दोहन गर्नु सन्ततिको धर्म नभएर आमाको समुचित सम्मानका साथ संरक्षण गर्नु पनि कर्तव्य हो । सन्ततिले आफ्नो कर्तव्य निर्वाह गर्नु पर्छ, उत्तरदायित्व वहन गर्नु पर्छ, आमालाई हेला होइन सम्मान र पूजा गर्नुपर्छ, यो नै पौरस्त्य चिन्तनको सारसन्देश हो ।

ईशावास्योपनिषद्‌ले पनि मानवजीवन‌का लागि संयमता अपनाउनका लागि सनातन सूत्रको निर्देश यस‌प्रकार गरेको छ- ‘ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् । ‘तेन त्यक्तेनमा भुञ्जीथा मा गृधः कस्यस्सिद् धनम् ॥’ (ईशावास्योपनिषद-१) अर्थात् संसारमा जे जति पदार्थ छन् ती सवै परमात्माद्वारा व्याप्त छन् । त्यसैले यो सम्पूर्ण संसार परमात्माकै सम्पत्ति हो । अतः व्यक्ति (मानव) ले आफ्नो ठानेर लोभ गर्नु हुँदैन अर्थात् आफ्ना लागि मात्र हो भन्ने स्वार्थी भावना राख्नु हुँदैन । प्रस्तुत मन्त्रमा पर्यावरणनीतिको मूल तत्त्व अन्तर्निहित छ । उपभोग गरियोस् तर संयमपूर्वक । विकास होस् तर विनाशमूलक विकास होइन । धनसम्पत्ति होस् तर त्यसमा स्वामित्वको घमण्ड महोस् । अहिलेको आधुनिक पर्यावरण सङ्कटको मूलकारण अत्याधिक मात्रामा चलाइएका उद्योग कलकारखानामात्र नभएर प्रकृतिको अतिशय दोहन तथा असीमित उपभोग पनि हो भन्नेमा विश्व सचेत र सावधान हुनु पर्दछ ।

विज्ञान, दर्शन र नीति

विज्ञान‌ले प्रकृतिको कार्यप्रणालीलाई बुझाउने प्रयास गर्छ भने दर्शनले प्रकृतिसँग मानवको सम्बन्ध के हो भन्ने प्रश्न गर्दछ । विज्ञानले कसरी भन्ने प्रश्नको समाधान खोज्छ भने दर्शनले केका लागि भन्ने प्रश्न गर्छ अनि नीतिले हाम्रो कर्तव्य के हो भन्ने निर्धारण गर्छ । अतः जलवायुसङ्कटको समाधानका लागि विज्ञान, दर्शन र नीति परस्पर विरोधी नभएर एकापसका परिपूरक हुन सक्दछन् । जलवायु परिवर्तनको प्रभाव सर्वत्र समान छैन । वैश्विक तापमान वृद्धि (ग्लोबल वार्मिङ) मा धेरै भूमिका नभएको हाम्रो जस्तो देशले त्यसको भार र मार बढी खेप्नु परिरहेको छ भन्दै कुनै अनुनय-विनय नगरी दावाका साथ विश्वमञ्चमा जलवायु-न्यायका लागि नेपालले प्रस्ताव अघि सारेको छ; जुन अत्यन्त स्वाभाविक, सान्दर्भिक र प्रासङ्गिक छ । त्यसैले विश्वसामु नेपालले दान-अनुदान तथा सहयोगको भिक्षाका लागि हात पसारेको छैन, आफ्नो अधिकार प्राप्तिका लागि न्यायको प्रस्तावसहित विश्वलाई प्रकृतिको संरक्षणका लागि सबैको योगदान रहनु पर्नेमा दृढताका साथ खबरदारी गरेको छ । साथै वैश्विक नीति समत्व, उत्तरदायित्व र न्यायको कसौटीमा परीक्षण गरिनु पर्ने र आवश्यक परे संशोधन र पुनर्निर्माण गरी लागू पर्ने स्पष्ट सुझाव पेस नेपालबाट भएको छ ।

सङ्गच्छध्वम्-वैश्विक सहकार्यको मन्त्र

कुनै पनि समस्या समाधान एकल रुपमा सम्भव छैन । समूहमा मिलेर सहकार्य गरियो भने सफलता मिल्ने भएकाले सह‌यात्राका लागि मह‌त्त्वपूर्ण सन्देश विश्व मानवजातिलाई वेदले यसरी उपदेश गरेको छ- ‘सङ्गच्छध्वं संवदध्वं संवो मनांसि जानताम् । देवा भागं यथा पूर्वे सज्जानाना उपासते ।।’ (ऋवेद- १०/१९१/२) हामी विश्वभरका मानव जाति परस्पर प्रेमले सम्मिलित तथा सङ्ग‌ठित बनौँ । सबै मिलेर वैश्विक समस्या-निवारणार्थ तथा विश्वकल्याणार्थ सबैले चिन्तन, मनन र बहस गरौँ । जसरी इन्द्रवरुणादि देवताहरुले धर्म एवम् नीतिको मर्यादालाई पालना गर्दै आ-आफ्नो हविर्भाग ग्रहण गर्दछन्, त्यसैगरी विश्वभरका मानव (राष्ट्र) सबैले आआफ्नो योगदान अनुरूप न्यायोचित अंशलाई ग्रहण गर्नु पर्दछ । सबैलाई घाटा, हानि, नोक्सानी हुने गरी एक्लैले अन्यायपूर्वक विधिविधान तथा नीतिनियमलाई उल्लङ्घनपूर्वक अन्यको भागलाई ग्रहण गर्नु हुँदैन । यसबाट वैश्विक भूमिका, मूल्यमान्यता, नीतिमर्यादा वा अनुशास नको पाठ प्रस्तुत वेदमन्त्रले पढाएको छ । त्यस्तै अथर्ववेदमा समेत वैश्विक सहकार्यको चिन्तन यसप्रकार आएको छ- ‘सम्यञ्च सव्रता भूत्वा वाचं वदत भद्रया । (अथर्ववेद- ३/३०/३) अर्थात् समान गति, समान् कर्म, समान ज्ञान, समान नियम पालना गरेर हामी सबै एक-आपसमा कल्याणकारी भद्र वचन बोलौँ र सबैको कल्याण हुने सहकार्यमा जुटौँ र अघि बढौँ ।

वैदिक वाङ्मयले हामीलाई कहिल्यै सङ्कीर्ण बन्न सिकाएन । सधै उदात्त बन्न प्रेरित गरिरहेको छ । ‘वसुधैव कुटुम्बकम्’ र ‘स्वदेशो भुवनत्रयम्’ जस्ता उपदेशले हामीलाई पृथिवीवासी सबैमा विश्वबन्धुत्वभाव विकास गर्दै विश्वब्राह्मण्डलाई आफ्नै देश मान्न आह्वान गरिर‌हे‌को छ । विश्वमा रहेका सवै मानवका बीच सह-अस्तित्व तथा भाइचाराको सम्बन्ध स्थापित होओस् भन्ने वेद‌को प्रार्थना छ- ‘सहनाववतु सह नौ भुनक्तु सहवीर्यं करवावहै । तेजस्विनावधीतमस्तुमा विद्विषावहै ॥’ (कृष्णयजुर्वेदीय, शान्तिपाठ) अर्थात् सबैको सँगै नै रक्षा होओस, एकसाथ मिलेर उपभोग गर्न पाइयोस, सँगसँगै सबै नै शक्तिशाली बनौं । हामी आपसमा कहिल्यै विद्वेष नगरौँ । यसप्रकार सह-अस्तित्व तथा आपसी सद्‌भावका लागि वेदले प्रार्थना गरेको छ ।

प्राकृतिक प्रकोप‌जस्ता विषम परिस्थितिमा जुध्न एक्लै सकिँदैन । ढुङ्गाको भर माटो र माटाको भर ढुङ्गो भएझैँ एक आपसी सहयोग, सद्भाव, भरोसा र विश्वास‌मा नै मानवीय जीवन अडिएको हुन्छ । आपसी सहयोग र सद्‌भावको अभावमा यो संसार तथा मानवीय जीवन नै लथालिङ्ग र भताभुङ्ग हुन्छ । त्यसैले यस्तो विषम परिस्थितिमा सबै मिलेर अघि बढ्नु पर्दछ । आफूमात्र सुखी र सफल बन्ने स्वार्थपूर्ण विचार छाडी सबै सुखी होऊन्, सबै सफल बनून् भन्ने ध्येय सबै विश्वको हुनुपर्छ । त्यसैले वैदिक वाङ्‌मयको उद्घोष छ- ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत् ॥’ सबै सुखी बनून्, कोही दु:खी न होऊन् भन्ने आदर्शनै वैदिक सहकार्यको मर्म हो । ‘लोकाः समस्ताः सुखिनो भवन्तु’ को आर्षचिन्तन सबैले अवलम्बन गर्नु विश्वकै आवश्यकता हो । वैश्विक समस्या निराकरण गर्नु नै वैश्विक सहकार्य र समन्वय आजको आवश्यकता हो, यो नै वेदनिर्दिष्ट सन्देश हो ।

शान्तिका लागि सार्वभौम प्रार्थना

अन्तमा पौरस्त्य आर्षचिन्तक तथा वैदिक वाङ्‌मयद्वारा गरिएको सार्वभौम प्रार्थनालाई विश्वले मार्गदर्शक सिद्धान्त अपनाउनु अपरिहार्य छ- द्यौ: शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शातिरापः शान्तिरोषधयः शान्तिः । वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्मशान्तिः सर्वं शान्तिः शान्तिरेव शान्तिः सामाशान्तिरेधि ॥’ (शुक्लयजुर्वेद)

द्युलोक शान्त होस्, अन्तरिक्ष शान्त होस्, पृथिवी शान्त होस्, नदीनाला शान्त होऊन्, अन्नदि- औषधि शान्त होऊन्, वनस्पतिहरू शान्त्र होऊन् । विश्वमा देवताहरु शान्त होऊन्, ब्रह्म शान्त होस, सबै शान्त होऊन्, सर्वत्र शान्ति नै शान्ति छाओस् । ॐ शान्तिः,शान्तिः,शान्तिः !!!