काठमाडौं उपत्यकाको पानीको आवश्यकता पूरा गर्न तथा वर्षायाममा संकलित पानी सुख्खायाममा उपयोग गर्ने उद्देश्यले निर्माण गरिएको धाप बाँधको मुख्य संरचनामा हालसम्म कुनै असामान्य अवस्था नदेखिएको आयोजनाले जनाएको छ।

मनसुनजन्य वर्षाका कारण जलाशय तथा बाँध आसपासको क्षेत्रमा पानीको बहाव बढेपछि आयोजनाले जलाशयको पानीको सतह, बाँधको अवस्था, पानीको आवक (Inflow) तथा निकास (Outflow) नियमित रूपमा निरीक्षण र निगरानी गरिरहेको जनाएको हो।

धाप बाँध Concrete Faced Rockfill Dam (CFRD) प्रविधिमा निर्माण गरिएको हो । आयोजनाका अनुसार बाँधको जलाशयको सामान्य पानीको सतह २०८७.१४ मिटर रहेको छ। सोभन्दा माथि पानीको सतह पुगेमा अतिरिक्त पानी Spillway बाट स्वतः बाहिर जाने व्यवस्था छ।

विगतको मनसुन अवधिमा करिब १५ दिनमा ४०० मिलिमिटर वर्षा हुँदा बाँधमा आउने पानीको आवक करिब ८० लिटर प्रतिसेकेन्डसम्म पुगेको थियो। उक्त समयमा समेत जलाशयबाट करिब ४०० लिटर प्रतिसेकेन्ड पानी निरन्तर बाहिर पठाइएको र जलाशयको पानीको सतह करिब ४.५२ मिटर घटेको आयोजनाले जनाएको छ।

यसैगरी, २०८३ भदौ २४ गते साँझ Saddle Dam-1 नजिक सडक किनारामा पहिरो गएपछि सुरक्षाको दृष्टिले सोही दिन साँझदेखि करिब ४०० लिटर प्रतिसेकेन्ड पानी Outflow मार्फत निरन्तर बाहिर पठाइएको छ।

त्यस समयमा जलाशयको पानीको सतह २०८७.१८ मिटर रहेकोमा हाल २०८४.८० मिटरमा झरेको छ । अर्थात् उक्त अवधिमा जलाशयको पानीको सतह करिब २.३८ मिटर घटेको छ। आयोजनाका अनुसार जलाशयमा सञ्चित पानीको करिब ३५ प्रतिशत पानी Outflow मार्फत निकासा भइसकेको छ।

पछिल्लो केही समयदेखि वर्षाको मात्रा क्रमशः घट्दै गएकाले बाँधमा आउने पानीको आवक पनि घट्न सक्ने आयोजनाको आकलन छ । त्यसैले जलाशयको पानीको सतह र Level लाई विशेष निगरानीमा राखिएको छ।

आगामी समयमा अपेक्षाभन्दा बढी वर्षा भएर जलाशयको पानीको सतह २०८७.१४ मिटरभन्दा माथि पुगेमा अतिरिक्त पानी Spillway बाट स्वतः बाहिर जाने व्यवस्था रहेको आयोजनाले जनाएको छ। आवश्यकताअनुसार Outflow व्यवस्थापन गरी जलाशयको पानीको सतह सुरक्षित सीमाभित्र राख्ने काम भइरहेको छ।

बाँध आसपासका केही स्थानमा देखिएको पहिरो तथा पानीको बहावलाई ध्यानमा राखी आवश्यक पानी निकास, संरक्षण तथा आपत्कालीन व्यवस्थापनका कामसमेत गरिएको आयोजनाले जनाएको छ । जलाशयको अवस्था, Inflow, Outflow तथा पानीको सतहलाई निरन्तर निगरानीमा राखी प्राविधिक मूल्याङ्कनका आधारमा पानी व्यवस्थापन भइरहेको छ।

आयोजनाले बाँधको अवस्था र जलाशयमा रहेको पानीको मात्रा नियमित रूपमा प्राविधिक रूपमा निगरानी तथा व्यवस्थापन भइरहेकाले हालको अवस्थालाई लिएर सर्वसाधारणले अनावश्यक रूपमा आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ।

धाप बाँधको सुरक्षा तथा जलाशयको सुरक्षित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक सावधानी, पूर्वतयारी तथा निगरानीका काम निरन्तर भइरहेको र सर्वसाधारणलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न आयोजनाले अनुरोध गरेको छ।