लगातारको वर्षापछि दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा बेनी-जोमसोम-कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक सञ्जाल विच्छेद भएसँगै उत्तरी नाका कोरलाबाट हुने चीनतर्फको आयात-निर्यात ठप्प बनेको छ भने चीनबाट पैठारी गरिएका सयौं विद्युतीय सवारीसाधन र मालबाहक कन्टेनर बीचबाटोमै अलपत्र परेका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार जोमसोम-कोरला राष्ट्रिय राजमार्गअन्तर्गत बारागुङ मुक्तिक्षेत्रको चैले गाउँमाथिको कालोभीर र कागबेनी-ताङ्वे सडकखण्ड पहिरोले ठप्प छ।
लोघेकर दामोदरकुण्ड-२ घमीस्थित सेल्फीडाँडाको पहिरो पन्छाइए पनि अन्य स्थानमा अवरोध कायमै रहेको प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए।
कागबेनी-ताङ्वे सडक खुलाउन प्रहरीचौकी कागबेनीको टोली खटिएको छ। पहिरोका कारण कोरला नाकातर्फ मालसामान ढुवानी गर्न गएका र फर्किएका कन्टेनरहरू बाटोमै रोकिएका छन्।
यता, शुक्रबार रातिको भीषण वर्षापछि बेनी-जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खसेको छ। बेनी-जोमसोम-कोरला सडक आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार म्याग्दीको सिरुवारी, तातोपानी, रूपसे र पोखरेबगरमा पहिरोले सडक पुरिएको छ।
घाँसा बगर खोल्सामा सडक बन्द रहेको तथा काभ्रेभीरमा निरन्तर ढुङ्गा खसिरहेकाले यातायात पूर्णतः अवरुद्ध भएको शर्माले जानकारी दिए।
यसैबीच, बारागुङ मुक्तिक्षेत्र-१ स्थित कागबेनी-मुक्तिनाथ सडकको खिङ्गामा खसेको पहिरो भने डोजर परिचालन गरी हटाइएको वडाध्यक्ष प्रमेश गुरुङले बताए।
सडक अवरुद्ध भएसँगै चीनबाट ल्याइएका सयौं नयाँ विद्युतीय सवारीसाधनहरू जोमसोममै रोकिएका छन्। बाढी-पहिरोको उच्च जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले दिउँसोको समयमा समेत यातायातका साधन नचलाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया