काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न बिहीबार विहान १० बजे बस्ने गरी देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । ‘प्रधानमन्त्री भएपछि उहाँले सर्वदलीय बैठक बोलाउनुभएको छैन, यो नै पहिलो हो । त्यस्तो खास एजेण्डा छैन । तर, सबैको कुरा सुनौं भन्ने हिसाबले बैठक बोलाइएको हो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘अहिले संसद्‌मा जारी अवरोध खुलाउने विषय नै प्रमुख एजेण्डा हो ।

संसद्‌मा प्रतिनिधित्व गर्ने पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमै छन् । बैठकमा त्यसबाहेक संसद्‌को प्रमुख प्रतिपक्षी नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ ।

नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले गत २३ भदौबाट संघीय संसद्‌का बैठकहरुमा निरन्तर अवरोध पुर्‍याउँदै आएको छ । तर, माधवकुमार नेपालसहित ती सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी नै खोलिसकेका छन् ।

संसद्‌को गतिरोध खुलाउनकै लागि सभामुख अग्नीप्रसाद सापकोटाले पनि भदौमा सर्वदलीय बैठक बोलाएका थिए ।